काठमाडौं । नेकपा एमाले का सांसद क्षितिज थेबे ले संसद्मा ‘अपोजिशन डे’ अर्थात् विपक्षी दललाई विशेष प्राथमिकता दिने संसदीय अभ्यास लागू गर्न प्रस्ताव गरेका छन्। यसका लागि उनले प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि संशोधन दर्ता गराएका हुन्।

सांसद थेबेले संसद् केवल सत्तापक्षको मात्र नभई प्रतिपक्षको पनि साझा थलो भएकाले विपक्षीको भूमिकालाई संस्थागत रूपमा बलियो बनाउन आवश्यक रहेको बताए। उनका अनुसार संसद्लाई बढी जिम्मेवार, प्रभावकारी र सरकारप्रति उत्तरदायी बनाउने उद्देश्यसहित यस्तो प्रस्ताव अघि सारिएको हो।

ad

उनले संसदीय व्यवस्थामा कुनै पनि दल कहिले सत्ता र कहिले प्रतिपक्षमा पुग्न सक्ने भएकाले सबैले समान रूपमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने सोच आवश्यक रहेको उल्लेख गरे।

थेबेका अनुसार ‘अपोजिशन डे’ भन्नाले संसद्को निश्चित दिन विपक्षी दललाई कार्यसूची तय गर्ने अधिकार दिइने अभ्यासलाई बुझिन्छ। यस्तो दिन विपक्षी दलहरूले सरकारका नीति, निर्णय वा कामकारबाहीमाथि आलोचनात्मक बहस गराउन, सार्वजनिक सरोकारका विषय उठाउन तथा जवाफदेहिताको माग गर्न सक्नेछन्।

उनले बेलायत र क्यानडाजस्ता वेस्टमिन्स्टर प्रणाली अपनाएका मुलुकहरूमा यस्तो अभ्यास प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको उदाहरण दिए।

हाल नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको व्यवस्था भए पनि विपक्षी दललाई छुट्टै रूपमा संसद्को कार्यसूची निर्धारण गर्ने अधिकार भने नरहेको उनले बताए।

सांसद थेबेले संसद्लाई थप गुणस्तरीय र व्यवस्थित बनाउन ‘संसदीय अध्ययन प्रतिष्ठान’ स्थापना गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। उनका अनुसार यस्तो प्रतिष्ठानले सांसदहरूलाई संसदीय प्रक्रिया, नीति निर्माण र विधायनसम्बन्धी तयारीमा व्यावसायिक सहयोग पुर्‍याउनेछ।