
काठमाडाैं । भारत भ्रमणमा जान लागेका रवि लामिछानेलाई नयाँ दिल्लीले विशेष प्राथमिकताका साथ स्वागत गर्ने संकेत देखिएपछि नेपाल–भारत सम्बन्धको नयाँ समीकरणबारे चर्चा सुरु भएको छ।
भारतीय विश्लेषकहरूका अनुसार यो भ्रमण केवल औपचारिक भेटघाटमा सीमित नहुने, बरु बालेन्द्र शाह नेतृत्वको सरकारको विदेश नीति र कूटनीतिक दृष्टिकोणबारे बुझ्ने अवसरका रूपमा पनि हेरिएको छ।
गत निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रतिनिधिसभामा बलियो उपस्थिति बनाएको छ। त्यसयता भारतबाट औपचारिक निम्तो पाउने सत्तारूढ दलका शीर्ष नेता लामिछाने पहिलो व्यक्ति बनेका छन्। यसले भारतले रास्वपाको राजनीतिक भूमिकालाई गम्भीर रूपमा लिन थालेको संकेत दिएको विश्लेषण भइरहेको छ।
भारतीय जनता पार्टीको निमन्त्रणामा हुन लागेको भनिएको तीनदिने भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ। यद्यपि भ्रमण तालिका र एजेन्डाबारे दुवै पक्षले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
रास्वपाका केही नेताहरूका अनुसार भ्रमण टोलीमा सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा पनि सहभागी हुनेछन्।
विश्लेषकहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्म विदेश नीतिबारे स्पष्ट धारणा सार्वजनिक नगरेकाले भारतले सत्तारूढ दलभित्रका नेतामार्फत सरकारको सोच बुझ्न खोजेको बताएका छन्। नयाँ दिल्लीस्थित नेपाल मामिला विज्ञ एसडी मुनी का अनुसार नेपाल–भारत सम्बन्धमा संवादको कमी देखिएकाले लामिछानेको भ्रमणले त्यो दूरी कम गर्न भूमिका खेल्न सक्छ।
भारतीय सुरक्षा तथा रणनीतिक मामिलाका जानकार अशोक मेहता ले पनि भारतले लामिछानेलाई उच्च प्राथमिकताका साथ स्वागत गर्ने बताएका छन्। उनका अनुसार नेपाल–भारत सम्बन्ध, सीमासम्बन्धी विषय, कूटनीतिक प्रोटोकल र क्षेत्रीय सहकार्यबारे खुला छलफल हुन सक्छ।
विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक भेटघाटमा अपनाएको शैली र भारतीय अधिकारीहरूसँगको सीमित संवादबारे पनि दिल्ली चासोमा रहेको विश्लेषकहरूको भनाइ छ। कतिपयले भारतीय विदेशसचिव विक्रम मिस्री को नेपाल भ्रमण स्थगित हुनुमा यही कारण प्रभावकारी बनेको अनुमान गरेका छन्।
नेपाल–भारत सम्बन्धका जानकार तथा पत्रकार युवराज घिमिरे ले भारतले पछिल्ला वर्षहरूमा केवल सरकारसँग मात्र नभई दलका शीर्ष नेताहरूसँग पनि प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने नीति लिएको बताएका छन्। उनका अनुसार लामिछानेको भ्रमणले दुवै देशबीचको राजनीतिक संवादलाई नयाँ दिशा दिन सक्छ, तर नेपालका तर्फबाट औपचारिक प्रतिबद्धता आउने सम्भावना भने कम छ।
विश्लेषकहरूका अनुसार भारतले यो भ्रमणमार्फत नेपालमा उदाइरहेको नयाँ राजनीतिक शक्तिको सोच, विदेश नीति र भारतप्रतिको दृष्टिकोण बुझ्न खोजेको देखिन्छ। त्यस्तै, रास्वपाले पनि आफूलाई क्षेत्रीय कूटनीतिमा जिम्मेवार र संवादका लागि खुला शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको बुझाइ छ।










Facebook Comments