
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टसँग सम्बन्धित भनिएका ५६ जना व्यक्तिको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ। तर सोही सूचीमा पर्ने भनिएका हिमालय लाइफ इन्स्योरेन्सका पूर्वसीईओ मनोजलाल कर्णको नाम छुटेको विषयले भने प्रश्न उठाएको छ।
सीआईबीले भट्टसँग जोडिएका कम्पनी र व्यक्तिहरूको सम्पत्ति तथा शेयर रोक्का गरी विस्तृत विवरण उपलब्ध गराउन बोर्डलाई आग्रह गरेको हो। तर कर्णलाई सूचीबाट बाहिर राखिएको विषयलाई अनौठो मानिएको छ। व्यवसायी तथा सरोकारवालाहरूले समान प्रकृतिका अन्य व्यक्तिहरू रोक्कामा परे पनि कर्ण किन छुटे भन्ने प्रश्न उठाएका छन्। यसबारे सीआईबीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।
कर्णलाई व्यवसायी दीपक भट्ट मात्र नभई अर्का व्यवसायी सुलभ अग्रवालसँग पनि निकट मानिन्छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा भट्ट र अग्रवालसहित विभिन्न व्यवसायीमाथि अनुसन्धान भइरहेको स्रोतहरूले जनाएका छन्।
यसै सन्दर्भमा सीआईबीले ११ जेठमा बोर्डलाई पत्र पठाउँदै भट्टसँग सम्बन्धित कम्पनीका शेयरधनीहरूको लगानी विवरण माग्नुका साथै शेयर रोक्का राख्न अनुरोध गरेको थियो। सो पत्रअनुसार धितोपत्र बजारमा गरिएको लगानी, कम्पनी संरचना र संलग्न व्यक्तिहरूको विवरण संकलन भइरहेको छ।
सीआईबीले विवरण माग गरेका संस्थाहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लगायतका कम्पनीहरू रहेका छन्। ती कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य तथा लगानी समितिमा रहेका व्यक्तिहरूको शेयरसमेत रोक्का गर्न भनिएको छ।
सो सूचीमा हिमालयन लाइफ इन्स्योरेन्सका केही सञ्चालक र लगानी समिति सदस्यहरू समेत परेका छन्, तर पूर्वसीईओ कर्णको नाम भने उल्लेख नभएको देखिएको छ।
सीआईबीले तयार पारेको भनिएको ५६ जनाको सूचीमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल, नेपाल माइक्रो इन्स्योरेन्सका सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, अमित मोर, राजीव मोर लगायत विभिन्न कम्पनीका सञ्चालक तथा लगानी समितिका सदस्यहरूको नाम समावेश छ।
त्यस्तै गार्डियन, क्रेस्ट, लिबर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्ससँग सम्बन्धित उच्च अधिकारी तथा सञ्चालकहरू पनि रोक्का सूचीमा परेका छन्। हिमालयन लाइफ इन्स्योरेन्सका विवेककुमार शाह, लक्ष्मण ज्ञवाली, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झासमेत सूचीमा रहेका छन्।










Facebook Comments