
काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । यी अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डले उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गर्दछ ।
आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो । यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधान पूरा गर्न व्यावसायिक प्रतिष्ठानले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ ।
त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम)को मापदण्ड निर्धारण गर्दछ, जसले संघसंस्था तथा व्यवसायको वातावरणप्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ ।
‘आईएसओ २७००१ : २०२२ (आईएसएमएस) र आईएसओ २७७०१ : २०१९ (पीआईएमएस) डेटा सुरक्षा तथा गोपनीयताका मान्यता प्राप्त गरेपछि अब आईएसओ ९००१ र आईएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तरप्रति प्रतिबद्धताको प्रमाण हो’ एनसेल प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने ।
बिजनेस टु कन्ज्युमर (बीटुसी), बिजनेस टु बिजनेस (बीटुबी) वा बिजनेस टु गभर्मेन्ट (बीटुजी) जुनसुकै सेवा भए पनि यी मान्यताले व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो रूपमा सञ्चालित छ भन्ने कुरा देखाउँछ ।
एनसेलले पुस २०८१ मा आईएसओ २७००१ : २०२२ (आईएसएमएस) र आईएसओ २७७०१ : २०१९ (पीआईएमएस)को मान्यता पाएको थियो । उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको कम्पनीले जनाएको छ ।
यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक हो । यी दुई प्रमाणीकरणले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृष्यमा कम्पनीको उत्कृष्ट सञ्चालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गर्दछ ।
ग्राहकहरूका लागि यसको अर्थ थप भरपर्दो नेटवर्क पर्फर्मेन्स, अझ उत्तम सेवा गुणस्तर र वातावरणीय रूपमा जिम्मेवार सञ्चालन सुनिश्चितता हो ।










Facebook Comments