काठमाडौं । नेपालको पुँजी बजारमा डिजिटल पहुँच तीव्र रूपमा बढ्दै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार अनलाइनमार्फत शेयर कारोबार तथा लगानी व्यवस्थापनका लागि प्रयोग हुने ‘मेरो शेयर’ खाताको संख्या ६६ लाख १३ हजार पुगेको छ।

चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार यो संख्या देशको कुल जनसंख्याको करिब २२.७ प्रतिशत बराबर हो। गत असार मसान्तसम्म ५९ लाख ७६ हजार रहेको ‘मेरो शेयर’ प्रयोगकर्ता संख्या आठ महिनामै ६ लाख ३७ हजारले बढेको देखिन्छ।

ad

त्यसैगरी शेयर अभौतिकीकरणका लागि प्रयोग हुने डिम्याट खाताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। फागुनसम्म डिम्याट खाताधारी ७६ लाख ३९ हजार पुगेका छन्, जुन कुल जनसंख्याको करिब २६.२ प्रतिशत हो। गत असारमा यो संख्या ६९ लाख ९७ हजार थियो।

डिम्याट र मेरो शेयर खातामा देखिएको तीव्र वृद्धि आईपीओ, राइट शेयरलगायत प्राथमिक बजारप्रतिको बढ्दो आकर्षणसँग जोडिएको छ। चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजारमार्फत ५४ अर्ब १६ करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि स्वीकृति दिइएको छ, जुन अघिल्लो वर्षको तुलनामा ११७ प्रतिशतले बढी हो।

त्यस्तै, दोस्रो बजारमा अनलाइन कारोबारका लागि लगइन लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजारभन्दा बढी पुगेको छ।

समग्रमा, पुँजी बजारको आकार पनि विस्तार हुँदै गएको छ। फागुन मसान्तसम्म नेप्से परिसूचक २८२०.४५ विन्दुमा पुगेको छ भने बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।