काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देशमा गुणस्तर मापदण्ड अपनाउने उद्योगहरूको संख्या निरन्तर बढिरहेको देखाएको छ। औद्योगिक उत्पादनको गुणस्तर सुधार, परीक्षण तथा नियमनमा उल्लेखनीय प्रगति भएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपाल गुणस्तर (नेपाली स्ट्यान्डर्ड) का स्वीकृत मापदण्डहरूको संख्या १ हजार १ सय ८२ पुगेको छ। यस अवधिमा मात्रै ३७ वटा नयाँ मापदण्ड स्वीकृत भएका छन्।

ad

नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) प्राप्त गर्ने उद्योगको संख्या पनि बढेर ३ सय ७१ पुगेको छ। हालसम्म ५ सय ७६ उद्योगले गुणस्तर विभागबाट इजाजतपत्र लिएको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै थप ७३ वस्तुले एनएस चिह्न प्राप्त गरेका छन्।

बजारमा उपभोक्ताले गुणस्तरीय वस्तु पाउन सकून् भन्ने उद्देश्यले सरकारले अनुगमन तथा परीक्षण कार्यलाई पनि तीव्र बनाएको जनाएको छ। यस अवधिमा एनएस चिह्न प्राप्त उद्योगका २ सय २९ नमुना परीक्षणका लागि संकलन गरिएको थियो।

त्यसैगरी विभिन्न उत्पादनका ६ सय ८० नमुनामा रासायनिक तथा भौतिक परीक्षण तथा विश्लेषण गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। नापतौल प्रणालीलाई विश्वसनीय बनाउन ५३ वटा नापतौल यन्त्रको क्यालिब्रेसनसमेत गरिएको छ।