
काठमाडौं । सर्वोच्च अदालतले अदालतहरूमा लागू रहेको ‘गोला प्रक्रिया’ हटाउने वा त्यसको विकल्प ल्याउने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
बुधबार जारी विज्ञप्तिमार्फत अदालतले यस सम्बन्धमा फैलाइएका समाचार र सामाजिक सञ्जालमा आएका चर्चाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा २०७८ सालदेखि लागू गरिएको निर्देशिकाअनुसार नै मुद्दाको पेसी व्यवस्थापन भइरहेको उल्लेख गरिएको छ। अदालतले हालसम्म उक्त प्रणाली परिवर्तन गर्ने विषयमा कुनै औपचारिक छलफल वा निर्णय नभएको प्रस्ट पारेको छ।
विज्ञप्तिमा गोला प्रक्रियाबारे सार्वजनिक रूपमा फैलाइएका दाबी तथ्यहीन रहेको उल्लेख गर्दै अदालतको आधिकारिक धारणा नआउँदासम्म यस्ता समाचारमा विश्वास नगर्न आग्रह गरिएको छ।
सर्वोच्चले सत्यतथ्य जानकारी गराउने उद्देश्यले नै विज्ञप्ति जारी गरिएको जनाएको छ।










Facebook Comments