
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ गते भएको जेनजी प्रदर्शन शान्तिपूर्ण अवस्थाबाट हिंसात्मक मोडमा पुग्नुमा ‘टीओबी’ समूहको भूमिका देखिएको जनाएको छ।
आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा उक्त समूहले प्रदर्शन कब्जा गर्दै विद्यार्थीलाई अगाडि सारेर संसद् भवनतर्फ आक्रमण गरेको उल्लेख गरिएको छ।
आयोगका अनुसार प्रदर्शनस्थलमा ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका तथा शरीरमा सोही नामको ट्याटु बनाएका करिब १५ देखि २० जनाको बाइकर समूह प्रवेश गरेपछि अवस्था असामान्य बनेको थियो। प्रतिवेदनमा ती व्यक्तिहरूले शान्तिपूर्ण प्रदर्शनलाई उक्साएर हिंसात्मक गतिविधितर्फ धकेलेको दाबी गरिएको छ।
प्रतिवेदनमा भनिएको छ कि उक्त समूहको सक्रियतापछि प्रदर्शनकारीहरू उत्तेजित बनेका थिए। उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नुका साथै संसद् भवनतर्फ अघि बढ्ने प्रयास गरेका थिए। आयोगले संसद् भवनमा आगजनीको प्रयाससमेत भएको उल्लेख गरेको छ।
एभरेष्ट होटल अगाडि करिब २० देखि २५ हजार मानिस जम्मा भएपछि ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङले प्रदर्शनको नेतृत्व सम्हालेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि भीड आक्रोशित बन्दै निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेको र सुरक्षाकर्मीसँग झडप भएको आयोगको निष्कर्ष छ।
आयोगका अनुसार झडपपछि मात्रै सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए। त्यसको प्रतिक्रियास्वरूप आक्रोशित समूहले बीआईसीसीको गेटअगाडि ढुंगामुढा गर्नुका साथै एपीएफको वाटर क्याननमा तोडफोड गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
घटनाका क्रममा सुरक्षा निकाय र जेनजी अभियानका केही अगुवाले भिडलाई शान्त रहन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको पनि आयोगले जनाएको छ। पछि प्रमुख जिल्ला अधिकारीले बल प्रयोगको आदेश जारी गर्दै कर्फ्यु लगाएको प्रतिवेदनमा उल्लेख छ।
आयोगले टीओबी समूहको वास्तविक पहिचान, उनीहरूको आयोजकसँगको सम्बन्ध तथा कसैको योजनाअनुसार परिचालित भए–नभएको विषय अझै स्पष्ट नभएको जनाएको छ। त्यसैले उक्त बाइकर समूहबारे थप अनुसन्धान गरी निष्कर्षमा पुग्न आवश्यक रहेको आयोगको सिफारिस छ।










Facebook Comments