काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित विषयमा पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियानमा सक्रिय व्यक्तिहरू तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदमाथि विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। 

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा पूर्व पत्रकार, युट्युबर तथा कन्टेन्ट क्रियटरहरूमाथि पनि अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।

ad

आयोगका अनुसार ४९ जना व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ। उनीहरूमाथि घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको पाइए कानुनअनुसार कारबाही गर्न भनिएको छ। 

अनुसन्धान सिफारिस गरिएकामध्ये गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनीष झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, ओमप्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाईं, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह र निशान मैनाली रहेका छन्।

प्रतिवेदनमा सामाजिक सञ्जालमा व्यक्त गरिएका धारणा, प्रकाशित समाचार सामग्री तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको सूचनाका आधारमा उनीहरूको भूमिकामाथि अनुसन्धान आवश्यक देखिएको उल्लेख छ। 

आयोगले उनीहरूका अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित पारे–नपारेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगे–नपुगेको, वा कुनै प्रकारको दुरुत्साहन भएको–नभएको विषयमा सूक्ष्म अध्ययन गर्न आग्रह गरेको छ।

साथै आयोगले अनुसन्धान प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ। दोष प्रमाणित भएमा मात्रै कानुनी कारबाही अगाडि बढाउन आयोगको सिफारिस रहेको छ।