गत मंसिर २४ गते सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच भएको १० बुँदे सहमति अझै कार्यान्वयनमा आउन सकेको छैन। 

सम्झौतामा आन्दोलनमा सहभागी भएकै आधारमा कसैमाथि फौजदारी अनुसन्धान वा अभियोजन नगर्ने उल्लेख भए पनि त्यसअनुसारको प्रक्रिया अघि नबढेको भन्दै आन्दोलनकारी पक्षले असन्तुष्टि जनाएको छ।

ad

जेन–जी आन्दोलनकी अगुवा रक्षा बमका अनुसार सहमतिपछि १५ दिनभित्र थुनामा रहेका सबैलाई रिहा गर्ने तथा सयौँ मुद्दा फिर्ता लिने प्रतिबद्धता गरिएको थियो। तर, सरकार परिवर्तन भइसकेपछि पनि ती निर्णय कार्यान्वयन नभएको उनले बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले प्रश्न उठाएकै कारण युवाहरूलाई अपराधीजस्तो व्यवहार गरिएको आरोप लगाएकी छन्। उनका अनुसार अहिले पनि थुप्रै परिवार आफ्ना छोराछोरीको रिहाइको माग गर्दै धर्नामा बस्न बाध्य छन्।

उनले जेलमा रहेका धेरै युवा अझै किशोर अवस्थामै रहेको, केही उच्च शिक्षा वा भविष्य निर्माणको चरणमा रहेको र कतिपय परिवारको मुख्य सहारा भएको उल्लेख गरेकी छन्।

‘आज जेलमा रहेका ती युवाहरूको पीडा राज्यले बुझ्नुपर्छ,’ उनले लेखेकी छन्, ‘यदि समयमै न्याय भएन भने यही असन्तुष्टि भविष्यमा ठूलो आक्रोशमा बदलिन सक्छ।’

बमले सरकारले आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको सम्मान गर्दै निर्दोष युवाहरूलाई रिहा गर्न र उनीहरूमाथिका मुद्दालाई संवेदनशील ढंगले हेर्न आग्रह गरेकी छन्।