
काठमाडाैं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको नाममा जारी गरिएको पक्राउ पुर्जीको चलानी नं. २३९१२ रहेको छ ।
अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता, राहदानी लगायतका सरकारी कागजात बनाएको गम्भीर अभियोगमा गत जेठ १ गते अदालतमा चारवटा मुद्दा दर्ता भएसँगै उनीहरूविरुद्ध कानूनी कारबाही अघि बढाइएको हो।
जिल्ला सरकारी वकिल कार्यालय पर्साले मेयर सिंहसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराई, उनकी छोरी रुबिना श्रेष्ठ तथा वीरगञ्ज महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायविरुद्ध लिखत सम्बन्धी कसुर, नागरिकता कीर्ते र राहदानी कीर्ते लगायतका अभियोगमा मुद्दा दायर गरेको छ।
अभियोगपत्र अनुसार मेयर सिंहले रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाई २०७१ साल माघ २० गते रुबिनाको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता र त्यसको १२ दिनपछि राहदानी समेत बनाइएको अनुसन्धानबाट खुलेको उल्लेख छ ।
नामै नखोलेर राख्दा भने शंका उत्पन्न भएको अधिवक्ताहरूले बताएका छन् । बार एसोसिएन पर्साका अध्यक्ष रामनारायण कुर्मीले राजेशमानको नाम लुकाउनु पर्ने कुनै आवश्यकता नरहँदा नरहँदै पनि नाम लुकाइनु आश्चर्यजनक भएको प्रतिक्रिया दिए ।
जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले केही दिनअघि दिएको जानकारी अनुसार सरकारी वकिल कार्यालयले अभियुक्तहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ४१, नागरिकता ऐन २०६३ तथा अपराध पीडित संरक्षण ऐन २०७५ अन्तर्गत विभिन्न कसुरमा सजायको मागदाबी गरेको छ । दोषी ठहर भएमा १५ हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना तथा ६ महिनादेखि ३ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको बताएका थिए ।
यो प्रकरण २०८० साल माघमा वीरगञ्ज–३ निवासी लियाकत अलीले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीपछि बाहिरिएको थियो। प्रारम्भिक अनुसन्धान सुस्त बनेपछि उजुरीकर्ताले उच्च अदालत वीरगञ्ज अस्थायी इजलासमा रिट दायर गरेका थिए। अदालतले तत्काल अनुसन्धान अघि बढाउन परमादेश जारी गरेपछि मात्र प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
यसैबीच सार्वजनिक कार्यक्रममा निरन्तर देखिने महानगर प्रमुख जस्तो व्यक्तिलाई “फरार” वा “अनुपस्थित” देखाएर अभियोगपत्र दर्ता गरिएको विषयले थप शंका उत्पन्न गरेको छ। जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले मेयर सिंहलाई अनुपस्थित जनाउँदै अदालतमा अभियोगपत्र दर्ता गरेपछि उनको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ।
स्रोतका अनुसार अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी माग्दा सरकारी वकिल गुप्ताले अवरोध सिर्जना गरेको आरोप समेत लागेको छ। पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले आफ्नो कार्यालयले अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी माग गरेको तर स्वीकृति नपाएको पुष्टि गरेका छन्।
यस विषयमा जानकारी लिन जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्तालाई उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले आज फोन काटेका थिए। त्यस्तै श्रेस्तेदार प्रभाकर मल्लिकसँग आज सम्पर्क गर्दा “मिसिल हेर्नुपर्छ, पछि कुरा गरौं” भन्दै फोन काटिएको र केही घण्टापछि फोन गर्दा उठाएनन् ।










Facebook Comments