काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात वैशाख महिनामा उल्लेखनीय रूपमा घटेको छ। व्यवसायीहरूका अनुसार बजेटअघि कर तथा भन्सार नीतिबारेको अनिश्चितता, बजारमा पर्याप्त मौज्दात र उपभोक्ता मागमा आएको कमीका कारण आयात सुस्त बनेको हो।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखमा कुल १ हजार ४३४ वटा ईभी नेपाल भित्रिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा भने १ हजार ८९२ वटा ईभी आयात भएका थिए। यस आधारमा ईभी आयातमा २४.१९ प्रतिशत गिरावट आएको देखिन्छ।

ad

आयात घटेसँगै विदेशी मुद्रा बाहिरिने रकम र सरकारको राजस्व संकलनमा पनि कमी आएको छ। गत वर्ष वैशाखमा ईभी आयातका लागि ४ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो भने यस वर्ष सो रकम घटेर ३ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कर राजस्व पनि २ अर्ब ७७ करोड रुपैयाँबाट घटेर २ अर्ब ३१ करोड रुपैयाँमा झरेको छ।

यस वर्ष वैशाखमा ५० किलोवाटसम्म क्षमताका ३४२ वटा, ५१ देखि १०० किलोवाटसम्मका ९४२ वटा, १०१ देखि २०० किलोवाटसम्मका १४९ वटा र २०१ देखि ३०० किलोवाटसम्म क्षमताको एउटा मात्रै ईभी आयात भएको विभागको विवरणमा उल्लेख छ।

अघिल्लो वर्ष सोही अवधिमा ५० किलोवाटसम्मका ५८४ वटा, ५१ देखि १०० किलोवाटसम्मका १ हजार १२० वटा, १०१ देखि २०० किलोवाटसम्मका १८५ वटा तथा २०१ देखि ३०० किलोवाटसम्मको एउटा ईभी आयात भएको थियो।

व्यवसायीहरूका अनुसार यसपटक बजेटमार्फत कर नबढ्ने चर्चा चलेपछि आयातकर्ताहरू सतर्क बनेका हुन्। नेपालमा एमजी ब्रान्डको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुशील क्षेत्रीले गत वर्ष कर बढ्ने आशंकामा व्यवसायीहरूले बजेटअघि ठूलो संख्यामा गाडी आयात गरेको बताए। तर यस वर्ष त्यस्तो दबाब नदेखिएकाले आयात सामान्य रहेको उनको भनाइ छ।

उनका अनुसार पछिल्ला महिनाहरूमा ईभीको माग पनि केही कमजोर बनेको छ। यद्यपि वैशाख अन्त्यतिर ग्राहकको चासो पुनः बढ्न थालेको र इन्धनको मूल्यवृद्धिसँगै ईभी बिक्रीमा सुधार आउने अपेक्षा गरिएको उनले बताए।

टाटा ब्रान्डका लागि नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पनि गत वर्षको तुलनामा यस वर्ष व्यवसायीहरू कम आक्रामक भएको बताए। उनका अनुसार अघिल्लो वर्ष भन्सार दर घट्ने हल्लाका कारण वैशाखदेखि जेठसम्म ठूलो मात्रामा ईभी आयात गरिएको थियो।

यस वर्ष भने बजारमा पर्याप्त स्टक रहेकाले नयाँ आयात कम भएको र यही कारण समग्र आयातमा गिरावट देखिएको श्रेष्ठको भनाइ छ। उनले पछिल्ला दिनमा ग्राहकको चासो पुनः बढ्दै गएको उल्लेख गर्दै आगामी महिनाहरूमा बिक्रीमा सुधार आउने विश्वास व्यक्त गरे।