काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउने विषयमा स्पष्ट र औपचारिक निर्देशन दिन सभामुखसँग माग गरेका छन्।

रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री एक साताभित्र संसद्मा उपस्थित हुने प्रतिबद्धता जनाएपछि विपक्षी सांसदहरूले त्यसलाई पर्याप्त नभएको बताएका हुन्।

ad

एमाले सांसद पद्मा अर्यालले सत्तापक्षको मौखिक आश्वासन मात्रै भरपर्दो नहुने उल्लेख गर्दै सभामुखबाट औपचारिक रुलिङ हुनुपर्ने माग गरिन्।

उनले भनिन्, 'सत्तापक्षका प्रमुख सचेतकले प्रधानमन्त्री सदनमा आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब त्यसलाई सभामुखको आसनबाट रुलिङमार्फत सुनिश्चित गरिनुपर्छ।'

यस्तै, नेकपाका सांसद प्रमेश हमालले पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन निर्देशन दिन सभामुखसँग आग्रह गरे। विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर लगातार प्रश्न उठाउँदै आएका छन्।