आज बसेको प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङसँग मर्यादापालकले गरेको व्यवहारलाई लिएर कांग्रेस सचेतक निश्कल राईले आपत्ति जनाएका छन्।

बैठकमै बोल्दै राईले सभामुखको स्पष्ट आदेशबिना मर्यादापालकहरूले सांसद सेन्दाङलाई घेरेर बाहिर लगेको आरोप लगाए। उनले संसद्को मर्यादा कायम गर्ने जिम्मेवारी सभामुखको पनि भएको उल्लेख गर्दै प्रक्रिया मिचेर गरिएको व्यवहार स्वीकार्य नहुने बताए।

ad

‘सांसदलाई सचेत गराउने वा आवश्यक परे निर्देशन दिने अधिकार सभामुखको हो। तर सभामुखको प्रत्यक्ष आदेशबिना तीनजना मर्यादापालकले घेरेर बाहिर लैजानु उचित होइन,’ राईले भने। उनले संसद् नियमावलीमा फोटो वा भिडियो खिच्न नपाइने व्यवस्था भए पनि त्यसको कार्यान्वयन पारदर्शी ढंगले हुनुपर्ने धारणा राखे।

राईले सभामुखले दिएका निर्देशन सबै सांसदलाई स्पष्ट जानकारी गराइनुपर्ने भन्दै 'कानेखुसीको आदेशबाट संसद् सञ्चालन हुन नसक्ने' टिप्पणी समेत गरे।

यसपछि सभामुख डोलप्रसाद अर्यालले घटनाबारे आफ्नो धारणा राख्दै सांसद सेन्दाङले बैठक चलिरहेकै बेला सभामुखतर्फ मोबाइल तेर्स्याएर फोटो तथा भिडियो खिच्न खोजेको बताए। उनले त्यसलाई संसदीय मर्यादाविपरीत गतिविधि ठहर गर्दै मर्यादापालकलाई आवश्यक जाँच गर्न निर्देशन दिएको स्पष्ट पारे।

सभामुख अर्यालका अनुसार सांसदलाई बाहिर निकालेको नभई फोटो वा भिडियो खिचिएको हो कि होइन भन्ने विषयमा केवल जाँच गरिएको हो। साथै, घटनालाई अनावश्यक रूपमा तोडमोड नगर्न पनि उनले आग्रह गरे।