
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नं २, ३ र ४मा बर्ड फ्लु अर्थात् ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ पुष्टि भएको छ ।
संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाटलगायत पन्छी, अन्डा र दाना सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने कार्य भइरहेको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिकाले सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई अपिल गरेको छ। प्रभावित क्षेत्रमा रहेका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाइएको पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गर्नुपरे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अन्डा क्रेट पुनः प्रयोग नगर्न र फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधियुक्त फुटबाथ राख्न निर्देशन दिइएको छ।
कृषकलाई खोरभित्र छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न पनि आग्रह गरिएको छ। साथै, कुकुर, बिरालो र मुसाजस्ता जनावरलाई फार्म परिसरमा प्रवेश गर्न नदिन र मरेका पन्छीलाई तुरुन्त सुरक्षित रूपमा व्यवस्थापन गर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने तथा मासु र अन्डाजन्य परिकार राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सचेत गराएको छ।










Facebook Comments