काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरुले सरकारको गलत कार्यशैलीविरुद्ध सशक्त रुपमा प्रतिरोध गर्ने निकर्ष निकालेका छन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को उपेक्षा गरेको तथा सभामुख डीपी अर्यालले निष्पक्ष भूमिका निर्वाह नगरी दलीय भूमिका निर्वाह गरेको बिषयमा गम्भीर छलफल गर्दै जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेका हुन् ।

ad

छलफलमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुश्बु ओलीको सहभागिता रहेको थियो ।

एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर अगाडि बढ्ने सरकारको कदम र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर छलफल भएको बताए ।