काठमाडौं । अघिल्लो संसद्मा चौथो शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल डिपी तत्कालीन सरकारविरुद्ध सदनमा कडा रूपमा प्रस्तुत हुन्थे अनि प्रश्नहरू गर्थे । उनको पार्टी रास्वपाका सांसदहरूले त्यतिबेला निलो ‘स्कार्फ’ लगाउने सभामुखको आसनअगाडि संविधान पढ्ने अनि सदनमा प्रधानमन्त्री र मन्त्री नआउँदा विरोध गरेर सबैलाई हत्तु पारेका थिए । तर, समय बदलिएको छ । अहिले रास्वपाले दुईतिहाइनजिकको शक्तिशाली सरकार छ भने संसद्को हर्ताकर्ता सभामुख डिपी अर्याल छन् । तर, अघिल्लो संसद्मा आफूहरूले गरेका हर्कतहरू बिर्सिएर अहिले उनी विपक्षीमाथि कडा रूपमा प्रस्तुत हुन थालेका छन् । तत्कालीन सभामुख देवराज घिमिरेमाथि प्रतिपक्षीको तर्फबाट कडा प्रश्न गर्ने उनै अहिले सभामुख भएर सभा सञ्चालन गर्दा प्रतिपक्षीमाथि असहिष्णु हुन थालेको देखिन्छ । 

प्रतिनिधिसभाको सभामुख भएपछि पार्टीको जिम्मेवारीबाट अलग भएका उनले संसद्मा निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको राजनीतिक विश्लेषकहरू बताउँछन् । सभामुखमा निर्वाचित हुनासाथ पत्रकारहरूसमक्ष आफूले सबै सांसदहरूको सम्मान कायम हुने गरी काम गर्ने बताएका थिए भने सांसद र सभामुखको आसन पनि समान हुनुपर्छ भन्दै आदर्श छाँटेका थिए । तर, आसन समान भने पनि उनको त्यहाँ बसेर गर्ने शासन भने निकै पक्षपातपूर्ण हुन थालेको भन्दै प्रतिपक्षीहरूले विरोध गर्न थालेका छन् । संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहलाई उपस्थित गराउन रुलिङसम्म नसक्ने सभामुखले अहिले प्रतिपक्षीले विरोध गर्दा पनि सभा सञ्चालन गरेर सरकारलाई संसद्को रबरस्ट्याम्प बनाउन लागेका छन् । 

ad

प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि बालेन अहिले संसद्मा उपस्थित नै नभएर संसद्को गरिमामाथि आँच आउने काम गरिरहेको अवस्थामा सभामुखले संसद्को सर्वोच्चता कायम राख्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा त्यसो गर्न सकेका छैनन् । सभामुखले संविधानको पालना, संसदीय नियमावली, परम्पराको परिपालना गर्दै निष्पक्ष र पारदर्शी निर्णय गर्नुपर्नेमा सभामुख अर्याल त्यसबाट च्युत भएको नेपाली कांग्रेसका एक सांसदले बताए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले सभामुखलाई प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न माग गरिरहेका छन् । पछिल्लो केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै, जवाफदेहिता र सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ । संसद्को गरिमा जोगाउन र सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुन्छ नै । तर सभामुख दलगत आग्रहबाट माथि उठ्न नसक्दा संसद्को भूमिका नै कमजोर हुने संसदीय मामिलाका एक जानकारले देशान्तरलाई बताए । 

संसद् नियमावलीमा प्रधानमन्त्रीले हरेक महिनाको पहिलो साताको एक दिन सांसदहरूका जिज्ञासाको जवाफ दिनुपर्ने स्पष्ट व्यवस्था छ । तर प्रधानमन्त्री भएको दुई महिना पुग्न लाग्दासमेत बालेनले अहिलेसम्म संसद्मा उपस्थित भएर एकपटक पनि सम्बोधन गरेका छैनन् । सभामुखले पनि संसद्  नियमावलीलाई मिच्दै प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित भई सांसदहरूको जिज्ञासाको जवाफ दिन रुलिङ गर्न आनाकानी गरिरहेका छन् ।