
काठमाडौं । नेपाली कांग्रेसको इतरपक्षले अझै पनि समानान्तर गतिवधिलाई निरन्तरता दिँदै नयाँ पार्टी खोल्ने समेत धम्की दिइरहेको अवस्थामा इतर पक्षका प्रभावशाली मानिएका नेताहरूले धमाधम टिम छाड्दै पार्टी सभापति गगनकुमार थापाको पक्षमा आफूलाई उभ्याएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहँदा इतर पक्षले भने पार्टीमा फुट ल्याउन विभिन्न गतिविधि गरिरहेपछि त्यसमा असन्तुष्टि जनाउँदै विगतमा इतर पक्षमा देखिएका नेताहरूले संस्थापन रोज्न थालेका हुन् । विगतमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासिला पात्र रहेका उमेश श्रेष्ठसहित महेन्द्र यादव र डा. शेखर कोइरालानिकट जीवन परियारले आ–आफ्नो टिम छाड्दै सभापति थापाको लाइनमा उभिएका छन् । सभापति थापाले श्रेष्ठलाई कांग्रेसको कोषाध्यक्षमा र परियारलाई केन्द्रीय सदस्यमा केही दिनअगाडि मनोनीत गरिसकेका छन् ।
यस्तै, १४औँ महाधिवेशनमा पार्टीको सहमहामन्त्रीमा निर्वाचित देउवानिकट महेन्द्र यादव पनि सभापति थापाको पक्षमा आफूलाई खुलाएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा बसेको बैठकमा यादवले आफूले विशेष महाधिवेशनको नेतृत्व मानेको खुला रूपमा बताए ।
१४औँ महाधिवेशनमा डा. शेखर कोइराला टिमबाट सहमहामन्त्री जितेका जीवन परियार पनि संस्थापन पक्षतिर खुलेका छन् । वैशाख २८ गते उनलाई कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत केही नेताहरूले पार्टीका निर्णयहरूलाई लत्याउँदै अगाडि बढिरहेपछि विगतमा उनीहरूकै पक्षमा रहेका थुप्रै नेताहरू संस्थापन पक्षतिर जोडिन थालेका छन् । खड्कालगायत नेताहरूले स्थानीय तहदेखि केन्द्रसम्म समानान्तर गतिविधि गर्दै आफूहरूको सम्मानजनक व्यवस्थापन हुनुपर्ने आवाज उठाइरहेको छ । तर उनीहरूले उठाइरहेको सम्मानजनक व्यवस्थापन भनेको के हो ? आमकांग्रेस नेता तथा कार्यकर्ताहरूले चासो व्यक्त गर्दै आइरहेको छ । पार्टीको आसन्न १५औँ महाधिवेशनबाट नै नेतृत्वमा आउन बाटो खुला रहेको अवस्थामा अहिले नै भाग खोज्नु रहस्यपूर्ण रहेको कांग्रेसका एक नेताले बताए ।










Facebook Comments