काठमाडौं । गत चुनावमा अनपेक्षित र आश्चर्यजनक नतिजा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को अलोकतान्त्रिक र अहंकारी स्वभावका कारण विपक्षीहरू तर आजित भएकै छन्, सरकार बनेको दुई महिना पनि नपुग्दै उनकै पार्टीभित्र पनि विवाद ‘भुसको आगोझैं’ सल्कँदै विस्फोटको अवस्थातिर पुगेको उक्त पार्टीका सांसद÷मन्त्री र नेताहरूले समेत सार्वजनिक रूपमा गरेका टिप्पणीहरूले पुष्टि गरेको छ । सार्वभौम संसद्लाई नटेरेको वा राष्ट्रपतिलाई अवहेलना गरेकाले मात्र होइन, पार्टीकै उच्चस्तरीय नेताहरू उनकै मन्त्रिमण्डलका सदस्य र सांसदहरूको असन्तुष्टि चुलिँदै जाँदा निरीह देखिएका सभापति रवि लामिछानेले सांसदहरूसँग छुट्टै ‘गुफ्तगु’ (परामर्श) गर्नुपर्ने अवस्था आइपुगेको रास्वपा उच्च स्रोतले देशान्तरलाई बताएको छ । गत साता सभापति रविले गरेको कोशी प्रदेश र मधेश प्रदेशका सांसदहरूको भेलामा अधिकांश सांसदले प्रधानमन्त्री बालेन र सरकारको आलोचना गर्नाले पनि अब अन्तरविरोध छताछुल्ल हुने अवस्थामा पुगेको पुष्टि हुन्छ । 

बालेनको अहिलेको व्यवहार र कार्यशैलीले निरन्तरता पाइरहने हो भने पार्टी खाडलमा जाकिने हुनाले समयमा नै पार्टी नेतृत्व सचेत र सजग बन्दै उनलाई व्यवहार सुधार्न चेतावनी दिनुपर्ने आवाज पनि रास्वपाभित्र उठिरहेको एक नेताले जानकारी दिए । बालेनको व्यवहार र कार्यशैलीबाट वाक्कदिक्क भएपछि रास्वपाकै सांसदहरूले पछिल्लो समयमा आफ्नै प्रधानमन्त्रीको खुलेर आलोचना गर्दै प्रधानमन्त्रीलाई स्वेच्छाचारी बन्नबाट रोक्न पार्टी नेतृत्वलाई सुझाइरहेका छन् । अस्ति शुक्रबार कोशी प्रदेशका सांसदहरूले सभापति रवि लामिछानेसँग भएको छलफलमा प्रधानमन्त्री र मन्त्रीका सचिवालयले जनगुनासोको सुनुवाइ नगर्ने र आफूहरूलाई कुनै रेस्पोन्स नगरेको भन्दै गुनासो गरेका थिए । आफ्नो क्षेत्रका बासिन्दाले समस्या सुनाउने गरेको र ती समस्या लिएर प्रधानमन्त्री र मन्त्रीको सचिवालयसम्म पु¥याउन नसक्दा आफूहरूलाई हिनताबोध भइरहेको सांसदहरूको भनाइ थियो । पार्टी र सरकारबीच तालमेल नहुँदा संसद्मा पनि आफूहरूकोे उपस्थिति फितलो देखिएको उनीहरूले बताए । 

ad

काठमाडौं महानगरको मेयर हुँदादेखि नै कसैले नटेर्ने बालेन अहिले प्रधानमन्त्री भइसकेपछि पनि विगतको जस्तै स्वभाव देखाउँदा रास्वपाका नेताहरू आजित बन्न पुगेका छन् । रास्वपाका अधिकांश नेता तथा सांसदहरू प्रधानमन्त्रीको व्यवहारका बारेमा प्रतिक्रियासमेत दिन समेत हिच्किचाइरहेको अवस्थामा पछिल्लो समयमा रास्वपाका केही सांसदहरूले बालेन प्रवृत्तिको खुलेरै आलोचना गरेका छन् । रास्वपाका सांसद अमरेश सिंहले केही दिनअघि संसद्को रोस्ट्रममै उभिएर बालेनको कडा आलोचना गरे । उनले प्रधानमन्त्रीमा राजा–महाराजाजस्तो व्यवहार गर्ने प्रवृत्ति देखिएको भन्दै खुलेरै आलोचना गरेका थिए । संसदीय मर्यादा र परम्परा कमजोर बनाइँदै लगिएकोमा उनको आपत्ति थियो । पछि एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उनले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रतर्फ जान लागेको गम्भीर संकेत गरेका थिए ।

रास्वपामा प्रवेश गरेपछि २०८२ साल माघ ४ गते एकपटक पार्टी कार्यालय पुगेर वरिष्ठ नेताको पदभार ग्रहण गरेका बालेन त्यसपछि पार्टी कार्यालयमा गएका छैनन् । रास्वपाको वरिष्ठ नेता भए पनि उनी पार्टीका कुनै पनि बैठक, सम्मेलन, अन्तरक्रियामा सहभागी भएका छैनन् । त्यसो त आसन्न महाधिवेशनमा बालेनले आफ्ना निकट सहयोगी भूपदेव शाहमार्फत पार्टी कब्जा गर्ने योजना बनाइरहेको समेत राजनीतिक वृत्तमा चर्चा छ । भूपदेव अछामबाट चुनावमा पराजित भए पनि उनलाई पार्टीभित्र बालेनले रणनीतिक भूमिकामा अगाडि सारेका छन् । उनी बालेनकै कोटामा हाल रास्वपाका महामन्त्री छन् । 

संसद्मा विपक्षी दलहरूले निरन्तर प्रधानमन्त्री बालेनको खोजी गरिरहँदा उनी संसद्मा उपस्थित भएका छैनन् । त्यसविरुद्ध विपक्षी दलका सांसदहरूले चर्को आवाज उठाइरहेका छन् । प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेयता प्रधानमन्त्री बालेनले संसदमा एकपटक पनि सम्बोधन गरेका छैनन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नमा पनि उनले जवाफ दिएनन् । 

बारामा हात हालाहाल

बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा शनिबार दुई पक्षबीच होहल्लासँगै हात हालाहाल भएको छ । विवाद बढेर झडपको स्थिति बनेपछि प्रहरीले बैठकमा उपस्थित सांसदलगायतलाई सुरक्षित बाहिर पठाएका थिए । पार्टीको विस्तारित बैठकमा भएको विवाद र झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उच्छृंखल नाराबाजीसहित हातमा लठ्ठी बोकेका कार्यकर्ता उग्र रूपमा प्रस्तुत भएको भिडियोमा देखिन्छ । 

रास्वपाका जिल्ला संयोजक चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरेपछि विवाद बढेको थियो । चुनावमा पार्टीविरूद्ध गतिविधि गरेको र पार्टीको आडमा आर्थिक लाभ लिएको भन्दै पार्टीले उनलाई कारबाही गर्दै निष्कासन गरेको थियो ।

सोही विषयलाई लिएर शनिबार कलैयाको करणराज होटेलमा भइरहेको बैठकमा स्वर्णकार पक्षीय कार्यकर्ता बैठक स्थलमा प्रवेश गरी हुटिङ गर्दै होहल्ला मचाएका थिए । उनीहरूलाई प्रहरी लगाएर बाहिर निकाल्न लगाउने क्रममा हात हालाहालसमेत भएको थियो । त्यसपछि बैठकमा सहभागी बाराका चारवटै रास्वपाका सांसद गणेश धिमाल, चन्दन सिंह, अरबिन्द साह र रहबर अन्सारी प्रहरीको सुरक्षामा बाहिरिएका थिए ।