बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला स्तरीय विस्तारित बैठकमा कुटपिट र झडप हुँदा तीन जना घाइते भएका छन्। जिल्ला नेतृत्व सम्बन्धी विवाद चर्किँदा कलैयास्थित कार्यक्रमस्थल तनावग्रस्त बनेको हो।

पार्टीले जिल्ला सभापति चन्दन स्वर्णकार लाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरहरू असन्तुष्ट बनेका थिए। बैठकमा नाराबाजी बढ्दै जाँदा स्थिति नियन्त्रणबाहिर गएर झडप भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ad

झडपका क्रममा महागढीमाई नगरपालिकाका पार्टी सभापति विक्रम यादव, सिम्रौनगढका सभापति सायह अन्सारीसहित तीन जना घाइते भएको जनाइएको छ। घाइतेहरूको उपचार भइरहेको बताइएको छ।

स्वर्णकार पक्षले भने घटना योजनाबद्ध रूपमा भएको दाबी गरेको छ। उनका अनुसार केही सांसदहरूद्वारा बोलाइएका व्यक्तिहरूले कार्यक्रम बिथोल्दै कुटपिट गरेको आरोप लगाइएको छ। “नगरपालिका सभापतिहरूलाई कुटपिट गरेर घाइते बनाइएको हो,” स्वर्णकार पक्षको दाबी छ।

यता बारा क्षेत्र नं ४ का रास्वपा सांसद रहबर अन्सारी ले भने जिल्ला कार्यसमिति विघटन भइसकेको अवस्थामा केही व्यक्तिहरूले कार्यक्रम बिथोल्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन्। उनले घटनालाई अतिरञ्जित गरिएको दाबी गर्दै घाइते भएको भनिएको अवस्था नाटक हुन सक्ने टिप्पणी गरेका छन्।

बैठकमा जिल्लाका चारै निर्वाचन क्षेत्रका सांसदहरू—रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंह—उपस्थित रहेका थिए। विवाद बढेपछि कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको र महाधिवेशन तयारीका विषयमा सुझाव संकलन गर्ने कार्य रोकिएको जनाइएको छ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि जिल्लामा नेतृत्व विवाद चर्किँदै आएको थियो। जिल्ला सभापति चन्दन स्वर्णकारको भूमिकामाथि प्रश्न उठाउँदै पार्टीले उनलाई कारबाही गरेको थियो, जसपछि पार्टीभित्रको आन्तरिक तनाव झनै बढेको हो।