
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी सचिवालय बैठकमा उपमहासचिव लेखराज भट्ट ले पार्टी नेतृत्वमा पुस्तान्तरणको बहसलाई थप तीव्र बनाएका छन्। उनले पार्टीलाई वास्तविक रूपमा रूपान्तरण गर्ने हो भने ६० वर्ष नाघेका सबै नेताहरूले जिम्मेवारीबाट पछि हट्नुपर्ने धारणा राखेका हुन्।
अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार बसेको बैठकमा भट्टले केवल ‘रूपान्तरण’ को नारा पर्याप्त नहुने उल्लेख गर्दै व्यवहारमै परिवर्तन आवश्यक रहेको बताएका थिए। सहभागी नेताहरूका अनुसार उनले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।
बैठकमा भट्टले “यदि पार्टीलाई नयाँ ढंगले अघि बढाउने हो भने ६० वर्षमाथिका सबै नेताहरू पदमा बसिरहनु हुँदैन” भन्ने आशयको धारणा राखेको स्रोतहरूले बताएका छन्। उनका अनुसार त्यसो गर्न सके पार्टी नेतृत्व युवापुस्ताको हातमा पुग्ने र संगठनलाई नयाँ ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको थियो।
शुक्रबारदेखि जारी सचिवालय बैठकमा एमालेका शीर्ष नेताहरूले नेतृत्व, संगठनात्मक पुनर्गठन र पार्टीको भावी दिशाबारे आ–आफ्ना धारणा राखिरहेका छन्। शुक्रबार पाँच जना उपाध्यक्षहरूले बोलेका थिए भने शनिबार महासचिव शंकर पोखरेल, तीन उपमहासचिव र पाँच सचिवले धारणा राखेका छन्।
बैठकमा उपमहासचिव योगेश भट्टराई ले खुला रूपमा नेतृत्व हस्तान्तरणको पक्षमा मत राख्दै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। महासचिव पोखरेलले भने प्रत्यक्ष रूपमा नेतृत्व परिवर्तनको कुरा नगरे पनि वर्तमान संरचनाबाट पार्टी प्रभावकारी रूपमा अगाडि बढ्न नसक्ने संकेत गरेका थिए।
यता उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेत ले भने अहिलेको अवस्थालाई पार्टीका लागि चुनौतीपूर्ण समय भन्दै नेतृत्वको रक्षा गर्नुपर्ने धारणा राखेका छन्।
एमाले सचिवालय बैठकमा देखिएको फरक–फरक धारणा र पुस्तान्तरणको बहसलाई पार्टीभित्रको नयाँ शक्ति समीकरण र भावी नेतृत्व संघर्षको संकेतका रूपमा हेरिएको छ।









Facebook Comments