
काठमाडौं ।नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र नेतृत्वबीचको असमझदारी चाँडो समाधान गर्न दबाब दिएको छ। गण्डकी प्रदेशस्तरीय भेलाबाट इतर समूहले पार्टी नेतृत्वलाई समयमै सहमति र एकताको सन्देश दिन आग्रह गर्दै निर्धारित समयभित्र निकास ननिस्किए महासमिति बैठक बोलाउने चेतावनी दिएको हो।
शनिबार सम्पन्न भेलाले जारी गरेको निर्णयमा पार्टीभित्र लामो समयदेखि देखिएको गुटगत तनाव र नेतृत्वबीचको दूरीले कांग्रेसको सार्वजनिक छविमा नकारात्मक असर परेको उल्लेख गरिएको छ। भेलाले देश जटिल राजनीतिक परिस्थितिमा रहेका बेला कांग्रेसभित्रै निरन्तर विवाद भइरहनु चिन्ताजनक भएको निष्कर्ष निकालेको छ।
निर्णयमा पार्टीका शीर्ष नेताहरूबीच तत्काल घनिभूत संवाद आवश्यक रहेको उल्लेख गर्दै सभापतिगगन थापा, निवर्तमान कार्यवाहक सभापतिपूर्णबहादुर खड्कातथा नेताशेखर कोइरालालाई एकताका लागि सक्रिय पहल गर्न आग्रह गरिएको छ।
भेलाले पार्टीभित्रका विवाद समाधानमा ढिलाइ हुँदा नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्न थालेको टिप्पणी गरेको छ। “आन्तरिक समस्या समाधान गर्न नसक्ने नेतृत्वले राष्ट्रिय चुनौती कसरी समाधान गर्छ भन्ने प्रश्न कार्यकर्तामाझ उठ्न थालेको छ,” निर्णयमा उल्लेख गरिएको छ।
इतर समूहले २०८३ साल जेठ १५ भित्र पार्टीभित्रको शक्ति संघर्ष, संगठनात्मक विवाद र नेतृत्वबीचको असमझदारी समाधान हुन नसके महासमिति बैठकमार्फत औपचारिक निकास खोज्ने चेतावनी दिएको छ।
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन, संगठन विस्तार, सरकार सञ्चालन र भावी नेतृत्वलाई लिएर विभिन्न धारबीच असन्तुष्टि बढ्दै गएको छ। गण्डकी भेलाको निर्णयलाई पार्टीभित्र संस्थापन इतर पक्षले नेतृत्वमाथि थप दबाब सिर्जना गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ।











Facebook Comments