काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी सचिवालय बैठकमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ। अधिकांश पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओली लाई मार्गप्रशस्त गर्न सुझाव दिइरहेका बेला सचिव महेश बस्नेत भने खुलेर ओलीको बचाउमा उभिएका छन्।

बैठकमा बोल्दै बस्नेतले पार्टी संकटको अवस्थामा नेतृत्व परिवर्तनको बहस उठाउनु अनुपयुक्त भएको बताएका छन्। सहभागी नेताहरूका अनुसार उनले अहिलेको परिस्थितिमा अध्यक्ष ओलीलाई हटाउन खोज्नु गैरजिम्मेवार कदम हुने टिप्पणी गरेका थिए। उनले विशेष महाधिवेशनमार्फत नेतृत्व फेरिएका दलहरूको पछिल्लो राजनीतिक अवस्था सन्तोषजनक नरहेको उदाहरण दिँदै केवल नेतृत्व परिवर्तनलाई समाधानका रूपमा प्रस्तुत गर्नु उचित नहुने धारणा राखेका थिए।

ad

सचिवालय बैठकमा भने नेतृत्व पुस्तान्तरण र पुनर्गठनको पक्षमा आवाज बलियो रूपमा उठिरहेको छ। उपमहासचिव लेखराज भट्ट ले ६० वर्षभन्दा माथिका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। उनका अनुसार पार्टी आन्दोलनलाई अब नयाँ पुस्ताले अगाडि बढाउनुपर्ने समय आएको छ।

बैठकमा भट्टले पुस्तान्तरणसँगै समग्र पार्टी पुनर्गठनको आवश्यकता पनि औंल्याएका थिए। एमालेभित्र पछिल्लो समय नेतृत्व शैली, संगठनात्मक संरचना र भावी दिशाबारे गम्भीर बहस सुरु भएको छ।