
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र आन्तरिक मतभेद तीव्र बन्दै गएको संकेत देखिएको छ। सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले पार्टीको वर्तमान अवस्थाबारे गम्भीर समीक्षा गर्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएपछि एमालेभित्रको शक्ति संघर्ष सतहमै आएको हो।
सचिवालय बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा घेराबन्दी भइरहेको दाबी गरेका छन्। उनले पार्टीलाई कमजोर बनाउन आन्तरिक र बाह्य शक्तिहरू सक्रिय रहेको उल्लेख गर्दै आफूविरुद्ध भइरहेका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार ओलीले पदाधिकारीहरूको धारणा ध्यानपूर्वक सुने पनि विस्तृत जवाफ भने भोलिको बैठकमा दिने बताएका छन्। 'उहाँले अहिले धेरै नबोली सबै कुरा सुनिरहनुभएको छ। तर भोलि आफ्नो धारणा स्पष्ट रूपमा राख्ने संकेत गर्नुभएको छ,' ती नेताले बताए।
पछिल्ला दुई दिनदेखि जारी सचिवालय बैठकमा अधिकांश नेताहरूले पार्टी कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै त्यसको राजनीतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा राखेका छन्। केही नेताहरूले पार्टीलाई नयाँ ऊर्जा दिन नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने सुझावसमेत दिएका छन्।
बैठकको औपचारिक एजेण्डा नेताहरूको कार्यविभाजन भए पनि छलफलको केन्द्र अहिले पार्टी पुनर्गठन, नेतृत्व शैली र संगठनात्मक संकटतर्फ मोडिएको छ। स्रोतहरूका अनुसार बैठकमा केही विषयमा चर्काचर्कीसमेत भएको थियो।
एमालेभित्र बढ्दो असन्तुष्टिले आगामी दिनमा पार्टीको आन्तरिक समीकरणमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ। विशेषगरी शीर्ष तहकै नेताहरूबीच नेतृत्व र कार्यशैलीलाई लिएर खुलेआम बहस सुरु भएपछि पार्टीभित्र नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिन थालेको छ।










Facebook Comments