जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। सत्ता साझेदार जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार उनले पुनः विश्वासको मत लिएका हुन्।

प्रदेशसभामा उपस्थित १ सय सांसदहरूमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको सभामुख रामअशिष यादवले जानकारी दिए।

ad

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत मागेका थिए। उनलाई नेकपा एमाले, नेकपा तथा नेपाल संघीय समाजवादी पार्टीसहितका दलहरूले समर्थन गरेका छन्।

गत मंसिरमा सात दलको समर्थनमा तत्कालीन एमाले नेतृत्वको सरकार हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए। तर सरकार गठन भएको करिब ६ महिनापछि फेरि एमालेकै समर्थनमा उनले आफ्नो सरकारलाई निरन्तरता दिन सफल भएका छन्।

यसअघि सत्ता गठबन्धनकै महत्वपूर्ण घटक जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेस नेतृत्वको सरकारविरुद्ध कदम चाल्ने संकेत गरेपछि जेठ १ गतेका लागि तय गरिएको विश्वासको मत प्रक्रिया अन्तिम समयमा स्थगित गरिएको थियो।

केन्द्रमा कांग्रेस, एमाले र नेकपाबीच विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव मधेश प्रदेश सरकारमा पनि देखिएको राजनीतिक वृत्तमा चर्चा छ।

विश्वासको मत लिनुअघि बिहीबार राति मुख्यमन्त्री यादवले जसपाबाट सरकारमा सहभागी तीन मन्त्रीलाई पदमुक्त गरेका थिए। साथै उनले एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा शपथ गराएका थिए।