
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग सामूहिक छलफल गरेका छन्। शुक्रबार उनले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै बैठक गर्दै समसामयिक राजनीतिक तथा जनसरोकारका विषयमा छलफल गरेका हुन्।
छलफलका क्रममा सांसद इन्दिरा राना मगरले सुकुम्वासी समस्याबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न आवश्यक रहेको विषय उठाएकी छन्।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सुकुम्वासीका विषयमा पार्टीले स्पष्ट नीति अघि सार्नुपर्ने बताइन्। उनका अनुसार विभिन्न स्थानीय तहहरूले एउटै विषयमा फरक–फरक ढंगले काम गरिरहेका छन्, जसका कारण सर्वसाधारण अन्योलमा परेका छन्।
उनले लालपुर्जा प्राप्त गरिसकेका नागरिकलाई समेत घर खाली गर्न नोटिस दिइनु गम्भीर विषय भएको उल्लेख गरिन्। “वर्षौंदेखि कर तिरेर बसिरहेका नागरिकलाई पनि हट्न भनिएको अवस्था छ,” उनले भनिन्।
राना मगरले नदी किनार वा जोखिमयुक्त क्षेत्रमा अनधिकृत बसोबास गर्नु उचित नभए पनि काठमाडौं उपत्यका र झापाजस्ता स्थानका समस्या एउटै ढाँचामा हेर्न नहुने धारणा व्यक्त गरिन्। उनका अनुसार सुकुम्वासी समस्याको समाधान गर्दा स्थानीय अवस्था र नागरिकको कानुनी हैसियतलाई पनि ध्यान दिन आवश्यक छ।









Facebook Comments