
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले हरायो।
नेपालले दिएको ३१८ रनको चुनौती पछ्याएको अमेरिका ४१.२ ओभरमै १९५ रनमा समेटियो। यसअघि पनि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए। नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६ तथा सैतेजा मुक्कमल्लाले २२ रन जोडे। अन्य ब्याटर भने ठूलो योगदान दिन असफल रहे।
नेपालको बलिङमा सन्दीप लामिछाने सर्वाधिक सफल रहे। उनले तीन विकेट लिए। ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान दुई–दुई विकेट हात पार्दा सोमपाल कामीले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो। यो कीर्तिपुर मैदानमा नेपालले बनाएको अहिलेसम्मकै उच्च एकदिवसीय स्कोर हो। यसअघि नेपालले यही मैदानमा ओमानविरुद्ध ३१० रन बनाएको थियो।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोरसमेत हो। नेपालले यसअघि सन् २०२५ जनवरी ८ मा स्कटल्याण्डविरुद्ध ३२१ रन बनाएको थियो।
नेपालका लागि ईशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले। दीपेन्द्र सिंह ऐरीले ५९ रन जोड्दा रोहित पौडेलले ४६ र आसिफ शेखले ४३ रन बनाए। कुशल भुर्तेलले २९ तथा गुलशन झाले १५ रनको योगदान दिए।
अमेरिकाका शुभम रन्जानेले तीन विकेट लिए भने मिलिन्द कुमार र रुशिल उगारकरले समान एक विकेट हात पारे। नेपालका तीन खेलाडी रनआउट भएका थिए।
यस जितसँगै नेपालले २८ खेलबाट २४ अंक जोडेको छ। नेपालले हालसम्म ११ जित र १५ हार व्यहोरेको छ र अंकतालिकाको पाँचौं स्थानमा रहेको छ।
अमेरिका भने २८ खेलमा १९ जितसहित ३८ अंक जोडेर शीर्षस्थानमै कायम छ। समान अंक भए पनि रनरेटका आधारमा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ।
घरेलु मैदानमा नेपालको प्रदर्शन प्रभावशाली रह्यो। यूएई, ओमान, अमेरिका र स्कटल्याण्ड सम्मिलित सिरिजमा नेपालले ८ मध्ये ६ खेल जित्दै उत्कृष्ट लय प्रस्तुत गरेको हो।








Facebook Comments