काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा दर्ता गरिएको मुद्दामा रवि लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी अभियोग हटाउन सरकारलाई अनुमति दिएको छ। अब उक्त मुद्दा ‘सहकारी ठगी’ अभियोगअन्तर्गत मात्रै अघि बढ्ने भएको छ।

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र संशोधन गर्न अनुमति दिँदै मुख्य मुद्दाका रूपमा सहकारी ठगीलाई मात्र निरन्तरता दिन आदेश जारी गरेको हो।

ad

गोविन्द अधिकारीसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यस मुद्दामा गितेन्द्र बाबु (जीबी) राई, छविलाल जोशी तथा रवि लामिछाने लगायतलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले यसअघि दर्ता गरिएको अभियोगपत्र संशोधन गरी ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी दाबी फिर्ता लिन अदालतसँग आग्रह गरेको थियो।

अदालतले पीडित बचतकर्ताको रकम फिर्ता गराउने विषयलाई प्राथमिकता दिँदै निर्णय गरेको जनाएको छ। आदेशमा बचतकर्ताले आफ्ना रकम छिटो र सहज रूपमा फिर्ता पाउनुपर्ने मागलाई न्यायिक प्रक्रियाको मुख्य आधार मानिएको उल्लेख छ।

इजलासले संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता अभियोग कायम रहँदा मुद्दा जटिल बन्ने, मिलापत्रको सम्भावना कम हुने तथा रकम फिर्ता प्रक्रियामा ढिलाइ हुन सक्ने निष्कर्षसमेत निकालेको छ। त्यसैले अभियोगपत्र संशोधन गरी सहकारी ठगी मुद्दालाई केन्द्रमा राखेर कारबाही अघि बढाउन अनुमति दिइएको अदालतले जनाएको छ।

यसअघि रवि लामिछानेको हकमा मात्र लागू भएको निर्णयलाई अब अन्य प्रतिवादीहरूमा समेत समान रूपमा लागू हुने गरी त्रुटि सच्याइएको अदालतको आदेशमा उल्लेख गरिएको छ।