काठमाडौँ । परराष्ट्र मन्त्रालयले कूटनीतिक समन्वयका कारण भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ। भारतले लागू गरेको प्राविधिक निर्देशिकाका कारण केही समय प्रभावित बनेको चिया निकासी प्रक्रिया दुवै देशबीचको संवादपछि पुनः सहज बनेको मन्त्रालयको भनाइ छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशिकाले नेपाली चिया निर्यातमा समस्या सिर्जना गरे पनि नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायबीचको समन्वयपछि उक्त समस्या समाधान भएको बताए। उनका अनुसार आवश्यक संशोधनपछि निर्यात प्रक्रिया सामान्य अवस्थामा फर्किएको हो।

ad

मन्त्रालयले नेपाल–चीन परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुनमा काठमाडौँमा आयोजना हुने जानकारी पनि दिएको छ। उक्त बैठकको सह–अध्यक्षता नेपालका परराष्ट्र सचिव र नेपालस्थित चिनियाँ राजदूतले संयुक्त रूपमा गर्ने तय भएको छ।

त्यस्तै, नर्वे र स्विट्जरल्याण्डसँग रहेका द्विपक्षीय परामर्श संयन्त्रका बैठकहरू पनि सोही अवधिमा काठमाडौँमै आयोजना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

विदेशमा सञ्चालन भइरहेका अवैध अनलाइन स्क्यामिङ नेटवर्कमा फसेका नेपाली नागरिकको उद्धार कार्यलाई सरकारले निरन्तरता दिएको छ। कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सक्रिय यस्ता गिरोहबाट हालसम्म ६८७ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ। पछिल्ला दुई सातामा मात्रै थप ७१ जनाको उद्धार गरिएको बताइएको छ।

कम्बोडियाका जेलमा रहेका २९ नेपालीलाई कानुनी सहायता उपलब्ध गराउने पहल भइरहेको तथा म्यानमारमा रहेका नेपालीका लागि कैद मिनाहासम्बन्धी कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

विदेशस्थित नेपाली नागरिकलाई सूचना तथा सहजीकरण सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘मोफा मित्र’ नामक मोबाइल एप आगामी जेठ २२ गते सार्वजनिक गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

यससँगै व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातको अनलाइन प्रमाणीकरण सेवा विस्तार गरिएको र राहदानी सेवा थप व्यवस्थित बनाउन नयाँ प्रणाली लागू गर्ने अन्तिम तयारी भइरहेको जानकारी पनि दिइएको छ।

राहदानी विभागले असार अन्त्यदेखि नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। हालको सेवा नियमित रूपमा सञ्चालनमा रहेको उल्लेख गर्दै मन्त्रालयले पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई जेठभित्रै आवेदन दिन आग्रह गरेको छ।