
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग बुधबार परामर्श गरेका छन् । अर्थ मन्त्रालयका अनुसार कार्यक्रममा सहभागी पूर्वअर्थमन्त्रीहरूले लोकप्रियताभन्दा पनि दीर्घकालीन प्रभाव पार्ने र कार्यान्वयन गर्न सकिने बजेट ल्याउन सुझाव दिएका हुन् ।
पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनमा जोड दिँदै तयारी नै नभएका साना तथा टुक्रे योजनामा बजेट नबाँड्न आग्रह गरे । उनले विद्युत्मा मूल्य अभिवृद्धि कर नलगाउन पनि सुझाव दिए ।
शंकर कोइरालाले विगतका आर्थिक प्रतिवेदन र सुधारका सिफारिसहरूलाई आधार बनाएर बजेट ल्याउनुपर्ने बताए । उनले विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्न, वनसम्बन्धी जटिलता हटाउन, औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउनुपर्ने धारणा राखे । साथै, बन्द उद्योग पुनः सञ्चालन र कपडा उद्योग स्थापनाबारे पनि व्यवहारिक ढंगले सोच्न आग्रह गरे ।
डा. युवराज खतिवडाले बजेट बनाउँदा अत्यधिक महत्वाकांक्षी लक्ष्य नराख्न सुझाए । राजस्व वृद्धिको वास्तविक क्षमता १० देखि १२ प्रतिशतको हाराहारीमा रहेको भन्दै उनले अवास्तविक लक्ष्यले आर्थिक दबाब सिर्जना गर्ने बताए । उनका अनुसार कर प्रणालीमा अनावश्यक कडाइ नगरी अर्थतन्त्रलाई सहज बनाउने नीति आवश्यक छ । उनले मुलुकलाई ग्रे लिस्टबाट हटाउन कूटनीतिक पहल बढाउनुपर्ने र निजी क्षेत्रको आत्मविश्वास उकास्नुपर्नेमा पनि जोड दिए ।
डा. प्रकाशचन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्यको वातावरण बनाउनुपर्ने धारणा राखे । उनले साना, मझौला र ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । कृषिक्षेत्रलाई अनुदानमार्फत थप सशक्त बनाउनुपर्ने उनको सुझाव थियो ।
सुरेन्द्र पाण्डेले धेरै राष्ट्रिय गौरवका आयोजना राखेर स्रोत बिखण्डित बनाउनु उपयुक्त नहुने बताए । उनका अनुसार सीमित तर प्रभावकारी आयोजनामा ध्यान केन्द्रित गर्नुपर्छ । उनले मध्यपहाडी राजमार्गजस्ता परियोजनालाई अब नयाँ चरणमा लैजान सुरुङमार्ग निर्माणतर्फ सोच्नुपर्ने उल्लेख गरे ।
डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता आवश्यकताका आधारमा वितरण गर्नुपर्ने धारणा राखे । नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको भन्दै उनले निजीकरण वा वैकल्पिक व्यवस्थापन मोडलबारे सोच्न सुझाव दिए ।
वर्षमान पुनले विगतमा निर्माण भएका पूर्वाधारले अपेक्षित आर्थिक प्रतिफल दिन नसकेको टिप्पणी गरे । उनले सडक बने पनि बजार विस्तार र आर्थिक गतिविधि पर्याप्त रूपमा बढ्न नसकेको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढाउन आग्रह गरे ।
विष्णुप्रसाद पौडेलले बजेट निर्माणमा स्रोतभन्दा खर्चको अनुमानलाई प्राथमिकता दिने परम्परा सुधार गर्नुपर्ने बताए । उनले सुधारमुखी बजेट ल्याउन अर्थमन्त्रीलाई प्रोत्साहित गर्दै बुढीगण्डकीजस्ता ठूला परियोजनामा काम अघि बढाउन आग्रह गरे ।
जनार्दन शर्माले बजेट कार्यान्वयन सबैभन्दा चुनौतीपूर्ण पक्ष भएको उल्लेख गर्दै अनावश्यक सरकारी खर्च कटौती गर्नुपर्ने धारणा राखे । उनले संघीयता कार्यान्वयनलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले प्राप्त सुझावहरूलाई बजेट निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुशासन, आर्थिक सुधार र जनजीवनको स्तर उकास्ने लक्ष्यसहित बजेट ल्याउने तयारी भइरहेको बताए ।










Facebook Comments