सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। 

विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।

ad

सिफारिस सूचीमा शंकरलाल अग्रवाल, शाहिल अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर लगायतका नाम समावेश छन्। 

विभागका अनुसार आरोपितहरूले विभिन्न कम्पनीमार्फत करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीमा सेयर खरिद गरेका थिए। अनुसन्धानमा बिमा, धितोपत्र तथा सेयर कारोबारसम्बन्धी कानुन उल्लंघन गर्दै अवैध स्रोत लुकाउने र सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ। 

विभागले सुलभ अग्रवाललाई २१ चैत र दीपक भट्टलाई १९ चैतमा पक्राउ गरेको थियो। केही आरोपित हिरासतमा छन् भने अन्य फरार रहेको बताइएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनको अन्तिम चरणमा रहेको जनाएको छ। आरोप प्रमाणित भएमा सम्बन्धित व्यक्तिविरुद्ध २ देखि १० वर्षसम्म कैद, बिगो बराबर जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको मागसहित मुद्दा दायर हुन सक्ने बताइएको छ।