
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न १० वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। समितिहरूले बजेट, सुशासन, मानव अधिकार, पूर्वाधार, सञ्चार, सामाजिक सुरक्षा लगायतका समसामयिक विषयमा छलफल गर्ने तयारी गरेका छन्।
प्रतिनिधिसभाको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिनुपर्ने नीतिगत विषयमा उपसमितिहरूले आफ्नो सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा कारागार र प्रहरी हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल हुने जनाइएको छ।
पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दैछ। बैठकमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण सार्वजनिक पूर्वाधार निर्माण क्षेत्रमा परेको प्रभावबारे विचारविमर्श गरिनेछ।
उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठक प्रारम्भमा बिहान ११ बजेका लागि तय भए पनि पछि दिउँसो २ बजे सारिएको छ। यद्यपि, बैठकको विस्तृत कार्यसूची सार्वजनिक गरिएको छैन।
महिला तथा सामाजिक मामिला समितिले सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गर्नेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि दिउँसो २ बजे बस्नेछ। बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनका क्रममा देखिएका विषय तथा विपद् व्यवस्थापनका लागि सरकारले गरेको तयारीबारे छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सूचना तथा सञ्चार मन्त्रालयको वर्तमान अवस्था र आगामी योजनाबारे समीक्षा गर्ने कार्यसूची तय गरेको छ।
सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फस्र्यौट र लेखापरीक्षणसम्बन्धी विषयमा छलफल गरिनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाबारे अर्थमन्त्रीसँग परामर्श गर्नेछ।
त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले समितिको कार्यविधि पारित गर्ने, लैङ्गिक असमानता अध्ययन उपसमितिको प्रगति समीक्षा गर्ने तथा नयाँ उपसमिति गठनबारे निर्णय गर्ने तयारी गरेको छ।









Facebook Comments