काठमाडौं । बुद्ध एयरले चितवनको भरतपुर र कास्कीको पोखराबीच सञ्चालन गर्दै आएको नियमित हवाई सेवा बन्द गरेको छ। कम्पनीले करिब एक महिनादेखि उक्त रुटमा उडान स्थगित गरेको जानकारी दिएको हो।

बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार यात्रुको संख्या निरन्तर घट्दै जानु, हवाई भाडा महँगो पर्नु तथा पोखरा–मुग्लिन सडकखण्डको अवस्था सुधारिनु उडान बन्द हुनुका मुख्य कारण हुन्।

ad

उनले विशेष समूह वा चार्टर्ड माग आएमा भने आवश्यकता अनुसार उडान सञ्चालन गर्न सकिने बताए। “केही समयसम्म यात्रु कम हुँदा पनि सेवा निरन्तर राखियो, तर लामो समयसम्म खाली जहाज उडाउन सम्भव भएन,” बस्नेतले बताए। उनका अनुसार भरतपुर र पोखरा दुवै पर्यटकीय क्षेत्र भए पनि अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न नसक्दा सेवा प्रभावकारी बन्न सकेन।

चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरूको आग्रहपछि बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि यो रुटमा उडान सुरु गरेको थियो। त्यसबेला सडक विस्तारका कारण पोखरा–चितवन यात्रा कठिन बनेको अवस्थामा हवाई सेवा यात्रुका लागि सहज विकल्प बनेको थियो।

विशेषगरी मुग्लिन–नारायणगढ र आँबुखैरेनी–पोखरा सडकखण्ड निर्माणाधीन हुँदा हवाई यात्राको माग बढेको थियो। तर अहिले सडकको अवस्था सुधारिएसँगै अधिकांश यात्रु सडकमार्ग रोज्न थालेका छन्।

हाल निजी सवारीमार्फत भरतपुरदेखि पोखरा करिब साढे दुई घण्टामा पुग्न सकिन्छ भने सार्वजनिक यातायातबाट करिब तीन घण्टा लाग्ने गरेको छ।