
काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। पार्टीका नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास गुण्डुमा बिहान ११:३० बजे बैठक बोलाएका हुन्।
यसअघि जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमाथि प्रारम्भिक छलफल भएको थियो। आजको बैठकले सो प्रस्तावलाई परिमार्जनसहित अन्तिम टुंगो लगाउने तयारी गरिएको बताइएको छ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, विभागीय समन्वय तथा संगठनात्मक जिम्मेवारीबारे विस्तृत छलफल हुनेछ। सचिवालयबाट निर्णय पारित भएपछि त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत तल्लो तहसम्म पठाइने जनाइएको छ।
एमालेले गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनपछि अस्थायी रूपमा नेताहरूको कार्यविभाजन गरेको थियो। त्यसयता फागुन २१ मा सम्पन्न निर्वाचनलाई केन्द्रमा राख्दै केन्द्रीय सदस्य तथा पदाधिकारीहरूलाई विभिन्न जिम्मेवारी दिइएको थियो।
नयाँ प्रस्तावअनुसार सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कूल विभाग, विशाल भट्टराईलाई जनसंगठन तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जनाएको छ।
त्यस्तै, उपाध्यक्ष र उपमहासचिवहरूलाई विभिन्न विभागको समन्वय तथा अनुगमनको जिम्मेवारी दिने प्रस्ताव पनि अघि सारिएको छ। अध्यक्ष ओलीको योजनाअनुसार अधिकांश केन्द्रीय सदस्यलाई ‘मिशन स्थानीय चुनाव’ केन्द्रित विशेष जिम्मेवारीसहित परिचालन गरिने बुझिएको छ।










Facebook Comments