काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट तयारीका क्रममा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव तथा परामर्श लिएका छन्। बिहीबार आयोजित छलफलमा आठजना पूर्वअर्थमन्त्री सहभागी भएका थिए।

छलफलका क्रममा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता वितरणलाई लक्षित र व्यवस्थित बनाउन सुझाव दिएका छन्। आर्थिक रूपमा सक्षम व्यक्तिलाई भत्ता नदिने नीति लिन सरकारलाई आग्रह गर्दै उनले अनावश्यक संरचना र खर्च कटौती गर्न राजनीतिक साहस आवश्यक रहेको बताएका थिए।

ad

महतले नेपाल एयरलाइन्सलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निजीकरण वा निजी व्यवस्थापन मोडल अपनाउनुपर्ने धारणा पनि राखे। आफूले कार्यकालमा प्रयास गरे पनि सफल हुन नसकेको उल्लेख गर्दै उनले वर्तमान सरकारलाई त्यसतर्फ निर्णायक कदम चाल्न आग्रह गरे।

त्यस्तै, उनले सरकारी स्वामित्वमा रहेका उद्योग र जमिनलाई निश्चित सर्तसहित लिजमा सञ्चालन गर्न सकिने सुझाव दिएका छन्। निजी क्षेत्रले व्यवसाय सञ्चालन गर्दा थपेको मूल्यबाहेक मूल सम्पत्ति सरकारकै स्वामित्वमा रहने मोडल प्रभावकारी हुनसक्ने उनको भनाइ थियो।

वैदेशिक ऋणको प्रयोग अत्यावश्यक परियोजनामा मात्रै सीमित गर्नुपर्ने सुझाव दिँदै महतले पहाडी क्षेत्रमा ठूला राजमार्ग विस्तारलाई पुनर्विचार गर्न आग्रह गरे। उनका अनुसार यस्ता परियोजनामा जनताको भन्दा पनि निर्माण व्यवसायीको स्वार्थ बढी देखिएको छ।

पाँच अर्ब रुपैयाँभन्दा माथिका ठेक्कामा सीमित समूहको प्रभाव देखिएको उल्लेख गर्दै उनले ठूला ठेक्कालाई साना भागमा विभाजन गरेर प्रतिस्पर्धात्मक रूपमा कार्यान्वयन गर्न सुझाव दिएका छन्।

कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्रै अनुदान सुनिश्चित गर्ने नीति आवश्यक रहेको महतको धारणा थियो। साथै, आयातित कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयमा पनि उनले सुझाव दिएका छन्।

पर्यटन प्रवर्द्धनका लागि वर्षभर सञ्चालन हुनसक्ने सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता समेत उनले औँल्याए।