
काठमाडौं । बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण र कर्मचारीहरूको मानसिक स्वास्थ्य अवस्थाप्रति प्रमुख सात बैंकका कर्मचारी संगठनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत कर्मचारी पीताम्बर खड्काले जेठ ४ गते आत्महत्या गरेको घटनापछि ती संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकार, श्रम मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका हुन्।
संयुक्त वक्तव्यमा खड्काको मृत्यु केवल व्यक्तिगत दुःखद घटना मात्र नभई बैंकिङ क्षेत्रमा गहिरिँदै गएको संरचनात्मक समस्याको संकेत भएको उल्लेख गरिएको छ। पछिल्ला वर्षहरूमा बैंकहरूमा अत्यधिक कार्यभार, लामो कार्यसमय र कार्य–जीवन सन्तुलनको अभावले कर्मचारीहरूको मानसिक, पारिवारिक तथा सामाजिक जीवनमा नकारात्मक असर परेको संगठनहरूको निष्कर्ष छ।
संगठनहरूले बैंकिङ कर्मचारीहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्दा पनि विभिन्न बाह्य समूहबाट धम्की, अपमान र दुर्व्यवहार सहनुपरेको बताएका छन्। सामान्य बैंकिङ प्रक्रियालाई समेत गैरकानुनी गतिविधि भन्दै कर्मचारीमाथि सामाजिक र कानुनी दबाब सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको उनीहरूको आरोप छ।
यस्ता परिस्थितिमा सम्बन्धित निकायहरूबाट पर्याप्त संरक्षण र सहजीकरण नपाउँदा कर्मचारीहरूमा असुरक्षा र निराशा थपिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
कर्मचारी संगठनहरूले संविधान र श्रम कानुनले सुनिश्चित गरेको सुरक्षित तथा सम्मानजनक कार्य वातावरणको अधिकार कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले बैंकिङ क्षेत्रमा श्रम मापदण्डको कडाइका साथ पालन, अतिरिक्त कार्यसमयको स्पष्ट व्यवस्था, तथा मानसिक स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी परामर्श प्रणाली विकास गर्न आग्रह गरेका छन्।
त्यस्तै, कार्यस्थलमा हुने दुर्व्यवहार र मानसिक उत्पीडन नियन्त्रणका लागि कडा कानुनी संयन्त्र निर्माण गर्न पनि माग गरिएको छ।
पीताम्बर खड्काको आत्महत्यासँग सम्बन्धित घटनामा कुनै प्रकारको दबाब, दुरुत्साहन, संस्थागत कमजोरी वा गैरजिम्मेवार व्यवहार जोडिएको छ वा छैन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने संगठनहरूको जोड छ। छानबिनबाट दोषी देखिए कानुनअनुसार कडा कारबाही गर्न उनीहरूले आग्रह गरेका छन्।
विज्ञप्तिमा केही समूहहरू उच्च तहका व्यक्तिमाथि कारबाही हुँदा सक्रिय हुने तर यस्ता संवेदनशील मानवीय घटनामा मौन बस्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइएको छ।
संयुक्त रूपमा वक्तव्य जारी गर्ने संगठनहरूमा एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआइसी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियन, नेपाल एसबिआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन तथा सिद्धार्थ बैंक कर्मचारी संघ रहेका छन्।










Facebook Comments