काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन सभामुख डोलप्रसाद (डीपी) अर्यालले गरेको आग्रहलाई पनि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले ठोस रूपमा स्वीकार नगरेको स्रोतहरूले बताएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्थालाई आधार बनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन निरन्तर दबाब दिँदै आएका छन्।

ad

विपक्षीको अवरोधका कारण बिहीबारको बैठक प्रभावित भएपछि सभामुख अर्याल १५ मिनेटका लागि बैठक स्थगित गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्री शाहसँग संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गरेका थिए।

भेटका क्रममा सभामुखले नियमावलीमा रहेको अनिवार्य व्यवस्थाको स्मरण गराउँदै प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित हुन आग्रह गरेका थिए। तर, प्रधानमन्त्रीले तत्काल कुनै निश्चित मिति नदिई “समय मिलाएर आउँला” भन्ने जवाफ दिएको स्रोतको दाबी छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रधानमन्त्री शाह प्रतिनिधिसभामा अनुपस्थित रहँदै आएका छन्। त्यसयता विपक्षी दलहरूले संसद्मा निरन्तर विरोध जनाउँदै प्रधानमन्त्रीको उपस्थितिको माग गरिरहेका छन्।

प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद्मा लगातार अवरोध भइरहेका बेला सभामुख र प्रधानमन्त्रीबीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।