नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले र नेकपाबीच पार्टी एकताको विषयमा कुनै औपचारिक छलफल नभएको बताएका छन्। उनले हाल यस्तो एकताको आवश्यकता पनि महसुस नगरिएको स्पष्ट पारे।

प्रेस चौतारी दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको प्राथमिकता वाम एकताभन्दा व्यापक लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य कायम गर्नु रहेको बताए। उनका अनुसार लोकतान्त्रिक मूल्य र व्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेसलगायत दलहरूसँग सहकार्य आवश्यक देखिएको हो।

ad

पोखरेलले मुलुक अधिनायकवादतर्फ उन्मुख हुन नदिन तथा नागरिकमा बढ्दो त्रासको वातावरण अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूबीच समझदारी र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले लोकतान्त्रिक अधिकारको रक्षा र पुनर्स्थापनाका लागि पनि साझा प्रयास आवश्यक भएको धारणा राखे।