
काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङद्वारा प्रस्ताव गरिएको जग्गा तथा भवन सहयोग स्वीकार नगर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले उक्त प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने निष्कर्ष निकालेको हो।
गुरुङ दम्पत्तिले कलंकी क्षेत्रमा जग्गासहित पार्टी कार्यालय निर्माण गरिदिने प्रस्ताव अघि सारेका थिए। त्यसका आधारमा गत असोजमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित गुरुङ दम्पत्तिले भवनको शिलान्याससमेत गरेका थिए। तर, निर्माण प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन।
दानस्वरूप प्राप्त हुने जग्गामा दाताकै पहलमा भवन निर्माण गर्ने विषयलाई लिएर पार्टीभित्रै असन्तुष्टि र बहस बढेपछि एमालेले अन्ततः प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।
अब पार्टीले आफ्नै स्रोत र व्यवस्थापनमा बल्खुस्थित मदननगर क्षेत्रमा नयाँ केन्द्रीय कार्यालय निर्माण गर्ने तयारी गरेको जनाएको छ। एमाले नेतृत्वले पार्टीको स्थायी संरचना आफ्नै स्वामित्व र योजनाअनुसार निर्माण गरिने स्पष्ट पारेको छ।










Facebook Comments