काठमाडौं । सर्वोच्च अदालतले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले न्याय र कानुन क्षेत्रमा पुर्‍याएको योगदानको उच्च सम्मानका साथ स्मरण गरेको छ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको आकस्मिक रूपमा बसेको पूर्ण बैठक (फूलकोर्ट)ले दिवङ्गत प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको हो। बैठकमा एक मिनेट मौन धारण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरिएको थियो।

ad

सर्वोच्च अदालतद्वारा जारी विज्ञप्तिमा स्वर्गीय प्रधानलाई देवानी तथा फौजदारी कानुनका क्षेत्रमा विशेष दक्षता हासिल गरेका अनुभवी न्यायिक व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। उहाँको लगनशीलता, निष्पक्षता, बौद्धिकता र निष्ठाले नेपालको न्यायिक इतिहासमा विशिष्ट छाप छोडेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा उहाँको निधनले न्याय तथा कानुन क्षेत्रलाई अपूरणीय क्षति पुगेको र राष्ट्रले एक सच्चा राष्ट्रप्रेमी एवं समर्पित न्यायिक व्यक्तित्व गुमाएको उल्लेख छ।

स्वर्गीय प्रधान विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएका थिए। त्यसपछि विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश बनेका उहाँले २०५१ पुस ५ गतेसम्म उक्त जिम्मेवारी सम्हालेका थिए।