काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले नेपाल सहकारी पत्रकार समाज (सिजेएन) मा आबद्ध पत्रकार तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट दिने भएको छ।

बुधवार सम्पन्न सम्झौताअनुसार सिजेएनसँग आबद्ध सञ्चारकर्मीहरूले भक्तपुरको दुवाकोट स्थित केएमसीमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्नेछन्। अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ।

ad

सम्झौताअनुसार सिजेएन सदस्य र उनीहरूका परिवारले अस्पतालका विभिन्न सेवा शुल्कमा नियमित रूपमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै २०८३ असार ३० गतेसम्मका लागि विशेष व्यवस्थाअन्तर्गत केही सेवामा ५० प्रतिशतसम्म छुट प्रदान गरिने उल्लेख गरिएको छ।

केएमसीले सामान्य बेड शुल्कमा २५ प्रतिशत र क्याबिन सेवामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। त्यस्तै आईसीयू, एचडीयू, सीसीयू, ओटी सेवा, ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, अल्ट्रासाउन्ड, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी लगायत सेवामा पनि २५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ।

दन्त उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा समेत छुटको व्यवस्था गरिएको छ। साथै एन्जियोग्राम, एन्जियोप्लास्टी, ईआरसीपी, एमआरसीपी तथा न्यूरो इन्टरभेन्सन सेवामा पनि सहुलियत लागू हुनेछ। तर स्टेन्ट, गाइड वायर, बेलुनजस्ता क्याथ ल्याब सामग्री, प्रत्यारोपण सेवा तथा अन्य उपभोग्य सामग्रीमा भने छुट नलाग्ने सम्झौतामा उल्लेख गरिएको छ।

सेवा लिन इच्छुक सदस्यहरूले अस्पतालमा परिचयपत्र, नागरिकता वा आवश्यक प्रमाणपत्र पेश गर्नुपर्नेछ। १६ वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य गरिएको छ।