पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान तीव्र बनेको छ। अनुसन्धानमा संलग्न निकायहरूका अनुसार उनीसँग एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको सम्पत्ति फेला परेको छ, जसको ठूलो हिस्सा सम्बन्धित स्रोतबाट पुष्टि हुन सकेको छैन।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त रूपमा उनको आर्थिक गतिविधि तथा सम्पत्ति स्रोतबारे छानबिन गरिरहेका छन्। अख्तियारले विशेष गरी भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धानलाई प्राथमिकता दिएको बताइएको छ। स्रोतका अनुसार आयोगले सम्पत्ति विवरण विश्लेषणका साथै बयान लिने प्रक्रिया अघि बढाइसकेको छ र जेठभित्रै मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

ad

जेन–जी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित खड्काको निवासमा ठूलो परिमाणमा नगद भेटिएको विवरण सार्वजनिक भएपछि उनी विभिन्न सरकारी निकायको निगरानीमा परेका थिए। गत १५ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो। पछि पक्राउ प्रक्रिया कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा उनलाई रिहा गर्न आदेश दिएको थियो।

संखुवासभा घर भएका खड्का व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका नेता मानिन्छन्। जलविद्युत्, होटल तथा अन्य क्षेत्रमा उनको लगानी रहेको बताइन्छ। लाजिम्पाट स्थित नेपाल स्काउटको जग्गा लिज विवादमा पनि उनको नाम जोडिएको थियो। अनुसन्धान स्रोतका अनुसार उनले व्यवसायबाट वैधानिक रूपमा आर्जन गरेको आम्दानीभन्दा धेरै सम्पत्ति अन्य माध्यमबाट संकलन गरेको आशंका गरिएको छ। आयोगले आफन्त र निकट सहयोगीहरूको नाममा रहेको सम्पत्तिमाथि समेत अध्ययन गरिरहेको छ।

अख्तियार स्रोतले एक जापानी नागरिकसँग सम्बन्धित ठूलो रकमको विषयमा समेत अनुसन्धान भइरहेको जनाएको छ। ती नागरिकले विभिन्न निकायमा उजुरी दिए पनि हालसम्म प्रभावकारी अनुसन्धान नभएको दाबी स्रोतको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीमाथि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही महिनाअघि अनुसन्धान सुरु गरेको बताइएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको चर्चा भए पनि हालसम्म औपचारिक पुष्टि सार्वजनिक गरिएको छैन।