
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन्। यसअघि स्थगित गरिएको विश्वासको मतसम्बन्धी कार्यसूची अब जेठ ८ गतेका लागि पुनः तय भएको छ।
मुख्यमन्त्री यादवले प्रारम्भमा जनता समाजवादी पार्टी नेपालका केही सांसदहरूले फ्लोर क्रस गर्न सक्ने सम्भावनाका कारण प्रक्रिया स्थगित गरेका थिए। तर राजनीतिक स्रोतका अनुसार, कांग्रेस, जसपा नेपाल, लोसपा र अन्य साना दलबीच यादवलाई सरकार चलाउने सहमति पहिले नै बनेको थियो। जसपा र लोसपा एकीकरण पछि देखिएको असमझदारीले अस्थिरता सिर्जना गरेको थियो।
यसैबीच, संघीय तहमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको परामर्शपछि प्रदेश सरकारलाई आवश्यक समर्थन दिने समझदारी भएको बताइएको छ। छलफलमा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मधेस सरकारको विषयमा परामर्श गरेका थिए।
समझदारी अनुसार, नेकपा एमालेले यादवलाई विश्वासको मत दिने तयारी गरेको छ। कांग्रेसका नेताहरूले पनि मुख्यमन्त्री यादवले आवश्यक बहुमत जुटाउने अपेक्षा गरिएको बताएका छन्। साथै, पार्टीका शीर्ष नेताहरू मधेसका क्षेत्रीय नेताहरूसँग थप छलफल गर्ने तयारीमा रहेका छन्।










Facebook Comments