नेपालबाट भारततर्फ तयारी चिया निर्यात रोकिएको १९ दिन पुग्दा भारतीय पक्ष अझ कडा रूपमा प्रस्तुत भएको संकेत देखिएको छ। भारतीय टि बोर्डले पश्चिम बंगालका चिया व्यापारीलाई नेपालबाट कुनै पनि माध्यमबाट चिया आयात नगर्न निर्देशन दिएको छ। निर्देशन उल्लंघन भए गोदाममै पुगेर नमूना संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइने चेतावनीसमेत दिइएको उद्योगीहरूले बताएका छन्।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय बजारसँगको व्यापारिक सम्पर्कसमेत प्रभावित हुन थालेको छ। उनका अनुसार अहिले भारतीय व्यापारीबाट नेपाली निर्यातकर्तालाई आउने ‘वाइङ कल’ समेत रोकिएको छ।

ad

उनले भारतीय टि बोर्डको पछिल्लो कदमले व्यापारीहरूमा थप त्रास सिर्जना गरेको बताए। प्रयोगशाला परीक्षणको नाममा झन्झट थप्ने रणनीति अपनाइएको उद्योगीहरूको बुझाइ छ। यही कारण भारततर्फ चिया पठाउने प्रक्रिया लगभग ठप्प बनेको छ।

मे १ देखि भारतीय टि बोर्डले नेपालबाट जाने प्रत्येक चिया ढुवानीमा नमूना परीक्षण अनिवार्य गरेपछि नेपाली निर्यातकर्ताले चिया पठाउन छाडेका थिए। भारतीय पक्षको व्यवहार बुझ्न परीक्षणका रूपमा झापाबाट एउटा चिया बोकेको गाडी पानीट्यांकी नाका पठाइएको थियो। चार दिनपछि मात्र नमूना संकलन गरिएको उक्त चियाको रिपोर्ट भने अझै आएको छैन। चिया भारत पुगेको १३ दिन र नमूना संकलन भएको नौ दिन बितिसक्दा पनि कोलकातास्थित प्रयोगशालाबाट नतिजा नआएको उद्योगीहरूको गुनासो छ।

यता, अवरोध हटाउन नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको जनाएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय वाणिज्य मन्त्रालयसँग निरन्तर संवाद गरिरहेको जानकारी उद्योगीहरूले पाएका छन्। दूतावासले सीमा नाकामा देखिएको समस्या लिखित रूपमा पठाउन आग्रह गरेपछि उद्योगीहरूले विवरण उपलब्ध गराइसकेका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले पनि अवरोध खुलाउन दूतावासमार्फत पहल भइरहेको बताए। उनका अनुसार यसपटकको समस्या अघिल्ला घटनाभन्दा फरक प्रकृतिको छ, किनकि भारतीय संसदीय समितिको निर्देशनअनुसार वाणिज्य मन्त्रालयमार्फत टि बोर्डले नयाँ व्यवस्था लागू गरेको हो।

व्यवसायीहरूले भने समस्या समाधानका लागि उच्च राजनीतिक तहबाटै पहल आवश्यक रहेको बताएका छन्। वार्षिक साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने चिया क्षेत्रमा देखिएको संकटले हजारौं किसान, श्रमिक र उद्यमी प्रभावित हुने उनीहरूको चेतावनी छ।

नेपालमा हाल २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको छ। देशभर करिब १२० चिया उद्योग र १०० भन्दा बढी साना तथा मझौला उद्यम सञ्चालनमा छन्। यो क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिस निर्भर छन्। गत वर्ष मात्रै नेपालले सिटिसी र अर्थोडक्स गरी ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको थियो।

उद्योगीहरूका अनुसार भारतले लागू गरेको नयाँ नीति पूर्ण रूपमा कार्यान्वयन भए नेपाली चिया उद्योग टिक्नै कठिन हुने अवस्था आउन सक्छ। नेपाली अर्थोडक्स चियाको ९० प्रतिशत र सिटिसी चियाको झन्डै आधा हिस्सा भारतीय बजारमै जाने भएकाले भारतको निर्णयले समग्र उद्योगमा गम्भीर असर पर्ने देखिएको छ।