
सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरिएपछि १९ जनाले उम्मेदवारी दिएका छन् । आवेदन दिनेमा विश्वविद्यालयका बहालवाला प्राध्यापक, विभिन्न शैक्षिक संस्थामा कार्यरत व्यक्तिदेखि सेवा निवृत्त शिक्षाकर्मीसमेत रहेका छन् ।
विश्वविद्यालयमा उपकुलपति पद खाली भएपछि गत वैशाख २५ गते गठन गरिएको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका अनुसार आवेदन दिनेहरूमध्ये एक जना महिला उम्मेदवार पनि रहेकी छन् ।
सरकारले अध्यादेशमार्फत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई पदमुक्त गरेपछि सुदूरपश्चिम विश्वविद्यालयको दैनिक प्रशासनिक जिम्मेवारी अस्थायी रूपमा प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ । पाठक यसअघि विश्वविद्यालयका रजिष्ट्रारसमेत रहिसकेका व्यक्ति हुन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार देशभरका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई सयभन्दा बढी आवेदन परेका छन् । अब ती आवेदनको प्रारम्भिक मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ तयार गरिने तयारी छ । प्रारम्भिक छनोटपछि उत्कृष्ट १० जनाको नाम सार्वजनिक गरिने बताइएको छ ।
वि.सं. २०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई न्यून शुल्कमा उच्च शिक्षा, प्राविधिक शिक्षा तथा विद्यावारिधिसम्मको अध्ययन गर्ने अवसर उपलब्ध गराउँदै आएको छ । विश्वविद्यालय स्थापनापछि प्रदेश बाहिर जानुपर्ने बाध्यता धेरै हदसम्म कम भएको स्थानीयहरू बताउँछन् ।
विश्वविद्यालयका सूचना अधिकारी नवीन बमका अनुसार महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पससहित सुदूरपश्चिमका नौवटै जिल्लामा १६ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् । साथै, विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी तथा सामुदायिक गरी अन्य प्रदेशमा समेत ३१ वटा क्याम्पस सञ्चालनमा रहेका छन् ।









Facebook Comments