काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९को खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन सञ्चालनका क्रममा भएको आम्दानी–खर्च र वित्तीय व्यवस्थापनसम्बन्धी विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको हो।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड १२ लाख ५८ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो। त्यसमध्ये ४ अर्ब १६ करोड ७८ लाख ३२ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।

ad

निर्वाचन आयोगले कुल मतदाता संख्या १ करोड ७९ लाख ३ हजार ६ सय ८१ लाई आधार मान्दा प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।

आयोगले निर्वाचन खर्चसँगै बजेट निकासा, राजस्व तथा धरौटीसहितको एकीकृत हिसाब विवरण पनि सार्वजनिक गरेको जनाएको छ। आर्थिक व्यवस्थापन कार्यविधि–२०८२ को दफा ३६ तथा सुशासन सुधारसम्बन्धी कार्ययोजनाअनुसार आयोगको बैठक संख्या १२/२०८३ को निर्णयबमोजिम विवरण सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ।