काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लागेपछि उक्त विषय प्रतिनिधिसभामा समेत उठेको छ । विभिन्न दलका सांसदहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र आरोप पुष्टि भए कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

नेपाली कांग्रेसकी सांसद निनुकमारी कर्णले प्रतिनिधिसभा बैठकमा बोल्दै एक विदेशी महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कमा नरहेको भन्दै न्याय खोजिरहेको विषय गम्भीर भएको बताइन् ।

ad

उनले कुनै जनप्रतिनिधिले प्रेम सम्बन्धको आडमा विदेशी नागरिकलाई भावनात्मक रूपमा प्रयोग गरी अलपत्र पार्ने काम गरेको भए त्यो केवल नैतिकताको विषय नभई संसदको विश्वसनीयतासँग जोडिएको प्रश्न भएको उल्लेख गरिन् । पीडित महिलाले न्याय पाउनुपर्ने र दोषी ठहरिए कारबाही हुनुपर्ने माग उनले सभामुखमार्फत सरकारसमक्ष राखिन् ।

यसअघि जनआस्था साप्ताहिकले सांसद कार्कीमाथि नाइजेरियन महिलालाई गर्भवती बनाएर बेवास्ता गरेको आरोपसहित समाचार प्रकाशित गरेको थियो । समाचारमा ती महिला र सांसद कार्कीबीच लिभिङ टुगेदरमा बस्दै आएको तथा गर्भ रहनासाथ सम्पर्क टुटेको दाबी गरिएको थियो । सम्बन्ध पुष्टि हुने केही कागजातसमेत सार्वजनिक गरिएको उल्लेख छ ।

प्रतिनिधिसभामै नेकपाकी सांसद पार्वती विकले पनि विषयलाई गम्भीर रूपमा लिन आग्रह गरिन् । उनले घटनाले नेपाल र नेपाली प्रतिनिधिहरूप्रति अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक सन्देश जाने खतरा रहेको बताउँदै यदि आरोप सत्य भए सम्बन्धित सांसदलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखिन् ।

नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले पनि सांसदको आचरणमाथि प्रश्न उठाउँदै घटनाले संसदको छवि प्रभावित भएको बताइन् । मानवअधिकार क्षेत्रमा लामो समय काम गरेको उल्लेख गर्दै उनले यस विषयमा आफूलाई विभिन्न पक्षबाट चासो र प्रश्न आएको जानकारी गराइन् ।

घटना सार्वजनिक भएपछि सांसद कार्की प्रतिनिधिसभाको बैठकमा अनुपस्थित रहँदै आएका छन् । सोमबारको बैठकमा सभामुखले नाम बोलाउँदा पनि उनी उपस्थित नभएको बताइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले घटनाबारे आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै विषयलाई आवश्यक प्रक्रियाअनुसार अघि बढाइने संकेत गरेका छन् ।