
सरकारले अरनिको राजमार्ग मर्मत तथा पुनर्निर्माणका लागि चीन सरकारबाट प्राप्त हुने ७९.३६ मिलियन चिनियाँ युयान बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग रकम स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्राप्त हुने सहायता रकम नेपाली मुद्रा अनुसार करिब १ अर्ब ८० करोड रुपैयाँ बराबर हुन्छ । उक्त रकम अरनिको राजमार्गको स्तरोन्नति तथा क्षतिग्रस्त संरचना पुनःनिर्माणमा खर्च गरिने बताइएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि अरनिको राजमार्गका विभिन्न खण्डमा ठूलो क्षति पुगेको थियो । सडकका कतिपय भाग अझै पूर्ण रूपमा पुनर्स्थापना हुन नसक्दा आवागमन प्रभावित हुँदै आएको छ ।
नेपाल सरकारले लामो समयदेखि उक्त राजमार्गको पुनर्निर्माणका लागि चीनसँग सहयोगको पहल गर्दै आएको थियो । सोही अनुरूप चीन सरकारले अनुदान सहयोग उपलब्ध गराउन सहमति जनाएको हो ।
नेपाल–चीन जोड्ने रणनीतिक महत्वको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको थियो ।










Facebook Comments