
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा अड्किएको साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा तीन सहकारीका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार रकम फिर्ता पाउनेमध्ये कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना बचतकर्ता रहेका छन्।
पहिलो दिन न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरिएको समितिले जनाएको छ। आगामी दिनमा भने बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने तयारी छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हाल विभिन्न समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेको जनाइएको छ।
सरकारले पाँच लाख रुपैयाँसम्म बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र त्यसभन्दा माथि रकम जम्मा गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ। समितिका अनुसार कुल बचतकर्तामध्ये पाँच लाखभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ता अभियानसँगै सहकारीहरूको ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताइन्। समस्याग्रस्त सहकारीका ऋणीहरूको विवरण सार्वजनिक भएपछि ऋण तिर्न आउनेको संख्या बढेको उनको भनाइ छ।
समितिका अनुसार हालसम्म ऋणीहरूबाट दुई करोड रुपैयाँभन्दा बढी रकम असुल भएको छ। बचत फिर्ता र ऋण असुली दुवै प्रक्रिया सँगसँगै अघि बढाइने समितिले जनाएको छ।










Facebook Comments