
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने तयारीस्वरूप संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समिति सचिवालयका अनुसार बैठक बिहान पौने १० बजेका लागि तय गरिएको छ।
बैठकमा डा. शर्माविरुद्ध प्राप्त उजुरीहरू खोल्ने र प्रारम्भिक अध्ययन गर्ने कार्यसूची रहेको बताइएको छ। समितिले यसअघि जेठ ४ गतेसम्मको समयसीमा निर्धारण गर्दै सर्वसाधारण तथा सरोकारवालासँग उजुरी आह्वान गरेको थियो।
प्रक्रियाअनुसार उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गरिनेछ। त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष सुनुवाइ गर्ने तयारी गरिएको छ।
संवैधानिक परिषद्को वैशाख २४ गतेको बैठकले शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै उनको नियुक्तिको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
समितिबाट सकारात्मक निर्णय आए राष्ट्रपतिबाट औपचारिक नियुक्तिको बाटो खुल्नेछ। पछिल्ला दिनमा प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर न्यायपालिका र राजनीतिक वृत्तमा विभिन्न बहस भइरहेका बेला समितिको आजको बैठकलाई चासोका साथ हेरिएको छ।









Facebook Comments